खगेन्द्र संग्रौला
सत्ताइस
चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको पासो, जाँघमा धोतीको परिधान— कथावाचक बाजे राडी ओछ्याइएको व्यासासनमा जमेर बसेका छन् ।
“श्री गणेशय नमः । हरि ओम् तत्सत् । गरुड उवाचः ।” दान–दक्षिणा महात्म्यको सातौँ अध्याय यसरी सुरु भयो । नियमानुसारको क्रम यथावत् छ । पहिले संस्कृत पाठको वाचन, त्यसपछि त्यसको नेपाली कथाको प्रस्तुति, बीच–बीचमा सचेतनाकारी जल–वर्षा । पुरोहित बाजे संस्कृतको अर्थ बुझ्छन् कि उनले नेपाली भाषाटीका घोकेर कथा कण्ठ गरेका हुन्, भन्न सकिँदैन । श्रोतागणमा संस्कृत बुझ्ने कोही छैनन् । बाजे म संस्कृतमा पारङ्गत पण्डित हुँ भनेझैँ गरी पाता पल्टाउँदै, फिँज काड्दै, झिँगा र भुसुना धपाउँदै, नाकबाट चुहुन लागेको पसिना पुछ्दै ह्वार्र संस्कृत पाठ वाचन गर्छन् । श्रोताले सुनून् वा नसुनून् उनलाई पर्वाह छैन । उता पुरोहित पटर–पटर पढिरहेछन्, यता श्रोताहरू कुहिराका काग भएर झकाउँदै र ओइलाउँदै जान्छन् ।
“सूतजी भन्नुहुन्छ ...” छ्याप्प पानी छ्यापेर आफ्ना सिकारगणलाई चनाखा तुल्याउँदै सिकारी बाजेको सिकार पुराणको नेपाली अर्थको दैलो घुरुक्क उघ्रियो । “पापीहरू यमराजको यातनाबाट मुक्त हुने उपाय के छ ” सूतजीको सोधाइको जवाफमा बडीबाजे मुक्तिको रणनीतिमाथि प्रकाश पार्न थाल्छन्, “हे सूतजी !”
फेरि सुरु भयो लिङ्गभेदको कुरुप कथा ! “हे गरुड ! अपुत्री र पापीहरूको दुर्गति पहिले कहियो ।” त्यसउप्रान्त पुरोहित बाजे पुत्र लाभ गर्ने जुक्ति बताउँछन्, “हरिवंंशको कथा सुन, विधिपूर्वक चण्डी पाठ गर अथवा भक्तिपूर्वक शिवजीको आराधना गर । पुत्र लाभ हुन्छ–हुन्छ, फरक खाँदैन । जब पुत्रको जन्म हुन्छ, पितृहरू पुन्नाम नाउँ गरेको नरकबाट तत्काल मुक्त भइहाल्छन्, । एउटै धर्मात्मा पुत्रले सम्पूर्ण कुललाई तार्छ, र उसले लोकमाथि विजय पनि गराउँछ ।”