सागर बुढाथोकी
जेठ तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा घटाउन ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाउँदा संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले भनिदिए, ‘यो जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।’
त्यसको साता नबित्दै मन्त्रालयकै ‘इन्सिडेण्ड कमाण्ड सिस्टम’ले लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका शंकास्पद संक्रमितलाई परीक्षण नगरी १० दिनमा घर पठाउने निर्णय गर्यो । कोरोना संक्रमणयुक्त क्षेत्र भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका शंकास्पद संक्रमितहरुको समयमै परीक्षण र व्यवस्थापन गर्न नसकेको सरकारको त्यो चतुर्याईँमा डा. सुवेदी कड्किए, ‘यो त अति हो, यस्तो पाराले समुदायमा संक्रमण फैलिनबाट कसैले रोक्न सक्दैन ।’
महामारीका १० महिनामा मिडिया र सामाजिक सञ्जालमार्फत प्रतिपक्षीको भूमिका खेलेका डा. सुवेदीले सरकारका हरेक निर्णयको जनश्वास्थ्यका दृष्टिकोणबाट विश्लेषण गरे । सरकारलाई उनले कहिले कन्ट्याक्ट ट्रेसिङ गर्न घचघच्याए त कहिले भद्रगोल क्वारेण्टिनले संक्रमण फैलाउने चेतावनी दिए । सरकारी निर्णयहरुको आलोचना मात्र गरेनन्, जनहितमा निर्णय गर्दा ‘स्याबास् सरकार’ भन्न पनि कञ्जुस्याईँ गरेनन् । सही निर्णयको कार्यान्वयन नहुँदा ‘सरकार यस्तै त हो नि ब्रो’ भन्दै व्यङग्य पनि गरे ।
तर डा. सुवेदी जस्ता जनस्वास्थ्य विज्ञहरुले जे नहोस् भनेर खबरदारी गरे, अहिले त्यही भइरहेको छ । त्यतिबेला सार्वजानिक रुपमै सुवेदीको खेदो खनेका सरकारका ‘भारदारी विज्ञहरु’ अहिले भन्ने गरेका छन्, ‘तपाईले ठीकै भन्नु भएको रहेछ ।’
तर अझै पनि धेरै मानिसले सरकारको निर्णय र विज्ञ विश्लेषणको घनचक्कर बुझ्न सकेका छैनन् । डा. सुवेदी भने सरकारलाई खबरदारी गर्ने मात्र होइन, आम मानिसलाई कोरोना भाइरसको महामारीको वास्तविकता बुझाउने अभियानमा छन् र, अरु भन्दा फरक विज्ञको पहिचान बनाएका छन् ।