सिरहाको लहानबाट करिब १ किलोमिटर पश्चिममा पर्छ पडरिया थारु टोल। थारु समुदायको बाहुल्यता रहेको लोकमार्गसँगै जोडिएको पडरिया गाउँको दक्षिण पुच्छारमा छ, २६ घरदुरी रहेको दलित बस्ति।
दलित बस्तिको पुच्छारमा छन्, दुईवटा ठूल्ठूला पोेखरी र यही पोखरीको किनारमा छ, मक्किदै गएको फुसको झुपडी।
भुपडीको ढोकामा बसेर दिनहुँजसो टोलाइरहेकी हुन्छिन्, एक दयनीय वृद्धा। ती वृद्धाको नाम हो, लरुबती सदा। ७२ वटा हिउँद बिताइसकेकी छिन्, उनले। जो सरकारको रेकर्डमा मरिसकेकी छन्। अर्थात उनको मृत्युदर्ता भइसकेको छ।
थलिएकी छिन्, उपचार छैन लरुबती राम्रोसँग आँखा देख्दिनन्। धेरैजसो दाँत झरिसकेका छन् उनका। सेतै फुलेको कपाल मुडुलो भइसकेको छ ।
लरुबती थलिएको धेरै भइसक्यो। हिँड्न सक्दिनन्, बाध्यताले घिस्रिन्छिन्। बोल्नसमेत नसक्ने अर्धचेत अवस्थामा रहेकी उनलाई तत्काल उपचारको खाँचो छ।
तर भएका दुईभाई छोरा पनि गरिबीसँग संघर्ष गरिरहेका छन्। त्यसैले आमा लरुबतीको उपचार गर्न सकिरहेका छैनन् ।
दुबै छोराहरु हातमुख जोड्न र गर्जो टार्न ज्याला मजदुरी गर्छन्। उपचार नपाएर छटपटाइरहेकी उनले न समयमा खान पाएकी छिन्, न त उनको स्याहारसुसार गरिदिने कोही नै छ ।
घरका सबै काममा निस्कने भएकाले लरुबती घरमा एक्लै हुन्छिन्, आँगनमा भेला भएका केटाकेटीसँग खेलेर दिन काट्छिन्।
केटाकेटीहरु नआउँदा उनी घिस्रिएरै गाउँतिर घुम्न निस्कि टोपल्छिन्, तर उनलाई भर दिने साथी कोही नभएकाले अप्ठ्यारो बाटोमा घोत्लिएर बसिरहन्छिन्।
गाउँका र घरका सबैले छिछि र दूरदूर गर्छन्। सरसफाई पनि गर्न नसक्ने भएकीले फोहोरी देखिने उनको छेउ पर्न कोही चहाँदैनन्।
स्याहारसुसार गर्नुको साटो घरका सबैले मरिदिए हुन्थ्योजस्तो ब्यवहार गर्छन् । जेठो छोरा शोभित सदाको यही झुपडीमा जिउँदो लाश बनेर दिन कटाइरहेकी छन्।
अनि जिउँदै मारिइन् मृत्युदर्ता भइसकेकाले लरुबतीले पाउने वृद्धा भत्तालगायत सरकारी सेवा सुविधा केही पनि पाउन सकेकी छैनन् ।
लरुबतीका जेठा छोरा अशोक सदाका अनुसार बाबुआमा दुबैको नागरिकता थिएन। न कुनै जन्मदर्ता नै थियो। बुवा बितिसकेका थिए। ‘नागरिकता बनाउन सहज होस् भनेर कर्मचारी कै सर–सल्लाहमा आमाको मृत्युदर्ता गर्नु पर्यो’, अशोकले दुःखेसो पोखे।
च्याउसरी खुलेका सरकारी तथा गैरसरकारी संस्थाको ध्यान पनि लरुबतीतिर पर्न सकेको छैन।
सरकारले सञ्चालन गरेको गरिबसँग बिश्वेश्वर कार्यक्रम पनि लरुबतिको परिवारसम्म पुग्न सकेको छैन भने स्थानीय सरकारले पनि बेवास्ता गरिरहेको छ। संघीय र प्रदेश सरकारको त कुरै नगरौं। उनीहरूले पनि पुरै बेवास्ता गरेका छन्।
भोको झुपडी भित्रको कहाली लाग्दो कथा
जीवनको अन्तिम पल बिताइरहेकी लरुबतीको बेदना जस्तै छोरा शोभित सदाको पिडा पनि ठिट लाग्दो छ ।
बिगत एक दशकदेखि यही झुपडीमा बस्दै आएका शोभितको कहाली लाग्दो कथा ब्याथा हृदय बिदारक छ ।
३ छोरा र एक छोरीलाई जन्म दिएर शोभितकी जीवनसंगिनीले संसार छाडेपछि सन्तानहरु हुर्काउन शोभितलाई हम्मे पर्यो ।
शोभितसँग कुनै भरपर्दो रोजगार थिएन, कहिले खेतबारी जोत्ने काम गर्थे त कहिले घर बनाउने ज्यामीको काममा लाग्थे। गरिबीकै कारण आफ्ना सन्तानलाई अशोकले पढाउन सकेनन् ।
अर्कातिर गरिबीमा पिल्सीरहेकी छोरी सरिताले पनि मानसिक सन्तुलन गुमाइन् । १८ बर्षकी सरिता बेपत्ता भएको ६ महिना बढि भइसकेको छ ।
हुर्किसकेका दुईभाई छोराहरु ज्यामी काम गर्न काठमाडाैं गएको धेरै भइसक्यो। कान्छो छोरो चाहीँ घरमै रहेको अशोक बताउँछन्।
अशोक भने आजभोलि माछा मारेर बेचेको पैसाले दैनिक गुजारा चलाइरहेका छन्, परिवारको गर्जो टारिरहेका छन्। कोरोनाकालिन लकडाउनमा काम नपाउँदा अशोकको परिवार धेरै दिन भोकै बस्नु पर्यो।
स्थानीय सरकारले प्रारम्भिक लकडाउनमा २० किलो चामल दिएको थियो, अशोकको परिवारलाई। पछिल्ला दिनमा कसैबाट पनि राहत पाएन यो परिवारले।
छिमेकीसँग पहिँचो चामल लिएर केही दिन त जसोतसो हातमुख जोडेको अशोकको परिवारले तातो पानी खाएर धेरै रात बिताएका थिए, लकडाउनमा।
रोग, भोक र शोकले झुपडीमा ओत लागेकाहरु मध्ये लरुबती थलिएकी छिन्। अभावै अभावले ग्रस्त अशोकले आमाको उपचार गर्न सकेका छैनन् ।
२५ सयमा बनेको घर
सिरहाको मुक्सारबाट बसाइँ सरेर पडरिया आएको हो, अशोकको परिवार। बुवा बोयलाल सदाको मृत्युपछि यो परिवारमा संकट आइपर्यो।
एक धुर जमिन नभएको परिवार दुई कित्तामा बाँडियो। भाई रामदत सदाले गाउँमै ऐलानी जग्गामा बनेको पुख्र्याैली घर रोजे। दाई अशोक भने गाउँलेको सहमतिमा पोखरी किनारमा झुपडी बनाएर बस्न बिबश भए।
‘२५ सय रुपैयाँमा बनाएको हुँ यो झुपडी’, झुपडी देखाउँदै अशोकले भने–‘ मक्किइसकेको छ अर्को बनाउन पैसा छैन।’