भिटेनलाई कारबाही गर्न साइबर ब्युरोलाई चिठी !

र्‍यापर समिर घिसिङ (भिटेन)लाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी पठाएको छ।

५ दिन अगाडि सार्वजनिक भएको ‘साइको श्रृंखला २’ अन्तर्गतको पहिलो गीत ‘पारा’मा केही आपत्तिजनक र अश्लील शब्दहरुको प्रयोग गरेको भन्दै उनलाई पक्राउ गर्न चिठी पठाएको हो।

 ‘पारा’ सार्वजनिक भएको ५ दिनमा नै ट्रेन्डिङमा आइपुगेको छ। उनले गीतमा र्‍याप नबुझेर प्रहरी फन्दामा परेको समयको अनुभूतिहरु समावेश शब्द सिर्जना गरेका छन्। 

‘गीतमा प्रयोग भएका शब्द सभ्य समाजले पचाउने खालका छैनन्, प्रहरीलाई मात्र नभएर नेपाली चेलिबेटी तथा समाजलाई असभ्य हुने खालको देखियो। त्यसैले साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेका हौँ,’  केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले भने। 

यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द र प्रहरीको पोशाक लगाएको भिडियो सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो। 

एक वर्षअघि पनि प्रहरीले पक्राउ गरी उनलाई भिडियो डिलिट गर्न लगाएको थियो। 

आइन्दा त्यस्तो शब्द प्रयोग गरेर भिडिओ सार्वजनिक नगर्ने सर्तमा प्रहरीले उनलाई बिना कारबाही रिहा गरेको थियो। 

यता प्रधान कार्यालयका ब्युरो प्रमुख एसएसपी नवीन्द अर्यालले साइबर ब्युरोले लेखेको चिठी प्राप्त भइसकेको बताए।

‘चिठी आइसकेको छ, कोको संलग्न छन्, हामी अनुसन्धानको प्रारम्भिक चरणमा छौं,’ उनले भने।

प्रकाशित मिति: : 2020-10-29 16:45:00

प्रतिकृया दिनुहोस्