अहिलेको मिडियाले नेपाल भू राजनैतिक रुपमा असाध्यै महत्वपूर्ण मुलुक हो भन्ने भाष्य स्थापित गरेको छ । धेरैले यो भाष्यलाई स्वीकारेको अवस्था पनि छ । त्यसैले नेपालको परराष्ट्र नीति बारेका लेख–अन्तर्वार्ता–अन्तर्क्रिया आदिको निचोड एउटै हुन्छ– नेपालमा शक्ति राष्ट्रहरुको तीब्र प्रतिस्पर्धा छ र सबैले नेपाललाई आफ्नो समूहमा तान्न प्रयास गरिरहेका छन् । तर नेपालले असंलग्न परराष्ट्र नीति छाड्नु हुँदैन र सबैसित सन्तुलित सम्बन्ध राख्नु पर्छ पर्छ ।
दुःखका साथ भन्नु पर्छ– यो भाष्य र यसबाट सिर्जित सन्तुलित कुटनीतिको अवधारणा दुवै गलत र काल्पनिक हुन् । सायद यही काल्पनिक भाष्यले निर्देशित मिडिया र बौद्धिकवर्ग र नेताहरुकै कारणले नेपालको अन्तर्राष्ट्रिय छवि धुमिल हुँदै मात्र गएको होइन, हामीलाई कसैले गम्भीर रुपमा नलिए पनि हामी चाँही अत्मरतिमा रमाइरहेका छौं ।
यस्तो गलत भाष्य कहाँबाट आयो त ? यसको उत्तर त्यति सजिलो छैन । तर यसको पछाडिका कारण खोतल्दा हाम्रो राष्ट्रवाद, गरिबी, अनि नेता र बुद्धिजीविहरुको अध्ययनको कमी, लोभ र डर जस्तो लाग्छ ।
राष्ट्रवादका विषयमा हामी ‘डेनियल’मा बाँचिरहेका छौं । अहिलेको भद्रगोल, गरिबी र नेपाली राहदानीवाहकले विदेशको एयरपोर्टदेखि झेल्नुपर्ने अपमानको पीडालाई बिर्सिन हामी इतिहासको मल्हम लगाइरहेका छौं । त्यसैले हामी जहिले पनि हाम्रो स्वतन्त्रता र गोर्खा सैनिकको बयान गरेर थाक्दैनौं । हाम्रो सोचाईमा प्रथम र द्वितीय विश्वयुद्ध ‘एलाइड फोर्सेस’ले हाम्रै कारणले जितेको हो भन्ने छ । त्यो बेलाको बेलायतलाई सैनिक सहायता गर्न सक्ने हामीलाई अहिले पनि के कम भन्ने मानसिकताले जरो गाडेको छ । त्यो बेलाको शक्तिशाली राष्ट्र बेलायतले पनि हामीसँग हारेको र हामीलाई स्वतन्त्र मानेको हामी अहिले पनि त्यस्तै छौं र अमेरिकालाई चीन घेर्न र चीनलाई तिब्बतको सुरक्षा कोषका लागि हामी नभई हुँदैन भन्ने भाष्यले हामीलाई केही भए पनि राहत दिन्छ, नेपाली हुनुको हीनता र पीडाबोधबाट मुक्त गर्छ ।