अमेरिकामा केही वर्षयता दशैको टीका नेपालभन्दा अघिल्लै दिन लगाउने वितण्डा सुरू गरिएको छ। नेपालका कुनै समयका राजा ज्ञानेन्द्रका शाही पण्डित माधवप्रसाद भट्टराईले अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति नामक एक संस्था बनाएर यो वितण्डाको नेतृत्व लिएका छन्। उनले यही समितिमार्फत् अमेरिकाका लागि मात्र हैन, नेपाली डायस्पोरा रहेको संसारका विभिन्न देशका लागि दशैं टीकाको साइत बाँड्न थालेका छन्।
उनको यो वितण्डाअघि नै अमेरिकामा रहेका मारूती पात्रोवाला भुटानी नेपाली पण्डितहरूले यसको प्रयास गर्दैआएका थिए। तर, उनीहरूको त्यो प्रयासको असर अमेरिकामा रहेका केही भुटानी नेपालीमा परे पनि अमेरिकामा रहेका नेपालीलाई भने पटक्कै परेको थिएन।
तर, जब भट्टराई आफ्नी राप्रपावाली नेतृ पत्नी कान्ता भट्टराईलाई लिएर नेपाल अमेरिकाको यात्रा गर्न थाले, उनी ड्यालासस्थित नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी)मा रहेका आफ्ना एक भक्त पूजारीमार्फत् यो अभियानको जग राख्न सफल भए, त्यसले ड्यालसमा रहेका केही नेपालीलाई दिगभ्रमित पार्न सक्यो। अहिले त्यसको नेतृत्व नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) का अध्यक्ष सुरेशचन्द्र पोखरेलले गरिरहेका छन्।
तर, विगतमा भन्दा यस वर्ष यो वितण्डाको पछि लाग्नेको संख्या कम भएको छ। गत वर्ष अमेरिकाका अन्य सहरमा रहेका नेपाली मन्दिरका धेरै पूजारीले अघिल्लो दिन नै दशैको टका लगाउनुपर्ने उर्दी जारी गरेका थिए। तर, नेपालमा मान्यजनले टीका नलगाइ नलगाउने भनेर धेरै नेपालीले उर्दी नमानेपछि उनीहरू रक्षात्मक बनेका थिए। यस वर्ष त उनीहरू पनि नेपालमा टीका लगाएपछि नै टीका लगाउने निर्णयमा पुगेका छन्।
उता, यो धन्धुकारी अभियानको नेतृत्व लिइरहेको नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) का अध्यक्ष सुरेशचन्द्र पोखरेलको आवाज पनि गत वर्षभन्दा दबेको छ। उनको यो धन्धुकारी अभियानले युलेस सामुदायिक भवन निर्माणमा धक्का लाग्ने सम्भावना बढेपछि उनी पछि धकेलिएको अनुमान गरिन्छ। यो अभियानका अर्का अभियन्ता नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र (एनसीएससी) बोर्ड अफ ट्रष्टीका अध्यक्ष विनय अर्याल पनि आआफ्नो हिसावले टीका लगाउन सबैलाई छुट भएको बताउने अवस्थामा पुगेका छन्।
बुझ्न के जरूरी छ भने दशै हिन्दू धर्मवालम्वीको धार्मिक चाड मात्र हैन, यो नेपाली जातिकै साझा सांस्कृतिक पर्व हो। यसलाई हिन्दू धर्मको धार्मिक चाडका रूपमा मात्र हेरिनु हुन्न । यसलाई नेपाली मात्रको सांस्कृतिक चाडका रूपमा हेरिनुपर्छ। यसको सनातनी मान्यता पनि यही नै हो। पछिल्लो समय बढ्दो नेपाली डायस्पोरासँगै जहाँ जहाँ नेपाली पुगेका छन्, त्यहाँ त्यहाँ यो सांस्कृतिक विरासतका रूपमा मनाइदै आएको छ।
पहिला पहिला नेपाली डायस्पोरा रहेको भारत, भुटान, म्यान्मारमा पनि नेपालमा टीका लगाएपछि मात्र टीका लगाउने चलन थियो। आफ्नो थातथलोको मूलघरको कोतमा मान्यजनले भवानी दुर्गाको पूजा गरेर टीका खोलेपछि मात्र टीका सुरू हुने यसको स्थापित प्रचलन हो। अझ भुटानमा रहेका भुटानी नेपाली त नेपालका राजारानीले टीकालगाएपछि मात्र टीका लगाउँथे। भनिन्छ, यसबाट भुटानी राजा आफूलाई भन्दा पनि नेपालका राजालाई मान्यता दिएको भनेर चिढिएका थिए।
जब दशैको सनातनी मान्यता नै यस्तो छ भने योभन्दा फरक किसिमले दशैको टीका लगाउने प्रपञ्च गर्नुको कुनै अर्थ छैन। तिथि, घडी, पलाको हिसावभन्दा पनि दशैको सनातनी परम्परा प्रमुख हो। दशैंको सांस्कृतिक स्वीकार्यता प्रमुख हो।
मूल कुरा दशैलाई हिन्दू चाडका रूपमा खुम्च्याउने सोच नै पश्चगामी सोच हो, यसलाई जहाँ रहे-बसेका भए पनि नेपालीको सांस्कृतिक चाडका रूपमा फराकिलो बनाउनेतिर लागौं। यसका लागि यसको स्थापित मान्यता र सनातनी परम्परालाई यथाशक्य कायम राखौं। यसलाई विवाद र विभाजनको विषय हैन, आपसी मेलमिलाप र संयोजनको आधार बनाऔं।
खुशीको कुरा अमेरिकाको नेपाली डायस्पोरामा गत वर्षभन्दा यस वर्ष धन्धुकारीको संख्या घटेको छ। आगामी दिनमा यस किसिमका थप धन्धुकारीलाई पनि सद्वुद्धि प्राप्त हुने नै छ। उनीहरूले बुझ्न के जरूरी छ भने दशै भट्टराई वा भण्डारीका केही थान जजमानीको विषय हैन, यो त नेपाली मात्रको सांस्कृतिक धरोहर र विरासतको विषय हो। हामीमध्ये कोहीको लहडको वा अल्पवुद्धिको विषय यो बनाइनु हुन्न।
अमेरिकामा यस वर्षको दशै-टीका मिलेसम्म सोमबार विहान १० बजेर १९ मिनेटको साइतमा लगाऔं, नमिल्नेले त्यसपछि लगाऔं। केही धन्धुकारीले भनेजस्तै नेपालमा आफ्ना मान्यजनले नलगाइ आइतबार नै नलगाऔं । यसबाट आफ्ना मान्यजनको अपमान त हुन्छ नै, जानी नजानी दशैको मूलमर्ममाथि पनि प्रहार हुन्छ।
यस वर्षको विजया दशमीको टीका मिलेसम्म जहाँ पनि सोमबार विहान १० बजेर १९ मिनेटको साइतमा लगाऔं, नमिल्नेले त्यसपछि लगाऔं। केही धन्धुकारीले भनेजस्तै नेपालमा आफ्ना मान्यजनले नलगाइ आइतबार नै नलगाऔं । यसबाट आफ्ना मान्यजनको अपमान त हुन्छ नै, जानी नजानी दशैको मूलमर्ममाथि प्रहार हुन्छ।
यसै पनि यो वर्षको दशै कोरोना कहरका कारण विगतमा जस्तो हर्षको चाड रहेको छैन। लाखौं नेपाली कोरोना संक्रमित छन्, हजारभन्दा बढीको त ज्यानै गैसक्यो। अर्थतन्त्र धराशायी भएका कारण धेरैका लागि दशैको उत्सव ल्याउने आर्थिक थैली नै रित्तो छ। भिडभाड गर्ने अवस्था छैन, बढ्दो उमेरका मान्यजनकोमा टीका थाप्न जाने अवस्था पनि छैन। नाकमा मास्क झुण्याएर एउटा विवश दशै टुलुटुलु हेर्नुपर्ने अवस्था छ। यस्तो अवस्थाको दशैमा टीका लगाउने साइतका बारेमा विवाद गर्नुको अर्थ र उपादेयता पनि के छ र?
यो पंक्तिकारको दशै त यसै पनि कोरोना भाइरसले खोसिदिएको छ। यही वर्ष श्रद्धेय माइलो दाइ यो संसारमा रहनु भएन। दुबै मृगौलाले काम गर्ने अवस्थामा उपचार भैरहेको बेला रोग प्रतिरोधात्मक क्षमता हदैसम्म गुमाएको अवस्थामा उहाँको निधन भयो। मेरो जस्तै अवस्था धेरै नेपालीको छ। यसै पनि परदेशको दशै नमिठो सम्झनाले चिमोटेर जाने हो। म पनि मेरो माइलो दाइ हुँदा दशैको बेला सपरिवार मनाएका दशै सम्झनाको ऐठनमा परेको छु।
हामी विदेशमा रहेका नेपाली एकपटकको नेपाली सधैंको नेपाली भनिरहेका छौं। त्यो भनेको विदेशी र नेपाली दुबै नागरिकता लिएर राजनीति गर्न र धनसम्पतिको पुर्जा जोगाउन मात्र त पक्कै पनि हैन होला। त्यसका केही निश्चित दायित्व र कर्तव्य पनि होलान्। त्यही कोटीमा सांस्कृतिक विरासतका रूपमा पाएका दशैजस्ता चाडलाई दशैका रूपमा मनाउनुपर्ने पनि त होला नि, हैन र ?
सांस्कृतिक दशैंको सबैलाई शुभकामना।