यसपालि दसैंमा ठूलो दाइ आउने रे
बाबालाई रेडियो, आमालाई साडी
भाइलाई घडी अनि मलाई जिनको पाइन्ट ल्याउने रे!
कूल पोखरेलको यो गीतले कुन नेपालीको मन नछुँदो हो? यो गीतले दसैं परिवेशको नेपाली समाजको संस्कार, शैली र जनजीवन बयान गरेको छ।
लामो समयदेखि मुग्लान भासिएका नेपालीहरूले दसैंमा घर फर्कने सपना बुनेका हुन्छन्। घर फर्कंदा खाली हात नजाने नेपाली संस्कार हो। त्यही संस्कारलाई कूलले गीतमा जोडेका छन्, बा, आमा, भाइ लगायतलाई दसैंमा घर जाँदा रेडियो, साडी, घडी लग्ने सन्दर्भमार्फत्।
तर, यसपालिको दसैं कूलको गीतजस्तै भएको छ- अर्कोपालि पक्कै आउने रे।
कोरोना महामारीको त्रासका कारण मानिसको जनजीवन विगत वर्षहरूमा जस्तो सामान्य छैन। कोरोना महामारी पछिल्लो समय नेपालमा तीव्र गतिमा बढिरहेको छ। लामो समयपछि आफन्त भेट्ने र मान्यजनबाट आशीर्वाद लिने कामका लागि हुने भेटघाट र आउजाउले पनि महामारी फैलाउन मलजल गर्ने खतरा रहेकाले अधिकांश मानिसको जीवन जहाँको तही टक्क उभिएको छ।
बडादसैंको अवसरमा पनि कामको सिलसिलामा बाहिरिएकाहरू परिवार भेट्न थातथलो फर्किन पाएका छैनन्।