छ्याप्प..., छ्याप्प...
बाटुलो कचौराजस्तो बनाएको हातभरिको पानीले टाढैबाट अनुहारमा हिर्काउँदा आँखाका चेपचेपसम्म बिझाउन पुग्थ्यो, अनि ब्युँझाउन पुग्थ्यो मलाई । म सधैं यसैगरी ब्युँझिन्थें ।
निद्रामा लठ्ठ परेका आँखा मिच्दै अनि खुट्टालाई लतार्दै-लतार्दै म थाहै नपाई घरभन्दा केही परको कलधारोमा पुग्थेँ । एउटा हातले कललाई सकेको बलले अँचेट्दै र अर्को हातलाई कचौरा बनाउँदै थाप्थेँ । साबुनका फिँजजस्तै गजल्ल परेका पानीका फोहराले म मेरो अनुहारमा हिर्काउँथेँ- एकपटक, दुईपटक । अनि निधारदेखिको पानीलाई हातले सोहोर्दै चिउँडोसम्म पुर्याउँथें । चियाको पातबाट बिहानीपख भुइँमा शीत झरेझैँ म पनि पानीलाई भुइँमा झारिदिन्थेँ, तप्तप् ।
घामको रक्तिम झुल्को मेरो अनुहारमा टिलिक्क टल्किन्थ्यो । म निधारमाथि दाहिने हातलाई अड्याएर कञ्चनजंघाबाट उदाउँदै गरेको घामलाई हेर्थेँ । म सोच्थेँ, घाम कति राम्रो छ है, ठ्याक्कै मजस्तै !
बुबा भन्नुहुन्थ्यो- म राम्री छु, असाध्यै राम्री । बिहानीपखको घामभन्दा पनि राम्री । घामको किरणभन्दा राम्री । घरछेउको चिया बगानभन्दा राम्री । घाम उदाउने कञ्चनजंघाभन्दा पनि राम्री । त्यसैले मेरो नाम पनि कञ्चन राखिदिनुभएको रे !
एकदिन स्कुल जाँदै गर्दा बुबाको साइकलको पछाडिको क्यारीमा दुवै खुट्टा एकातिर फर्काउँदै अनि खुट्टा हल्लाउँदै मैले सोधेँ- ‘‘बुबा, कञ्चन भनेको के हो ?’’
बुबा साइकललाई उकालोमा उकाल्न स्वाँस्वाँ गर्दै घरि उठ्दै र घरि बस्दै जोडले पैडललाई खुट्टाले नचाउँदै हुनुहुन्थ्यो । उकालो धेरै नै भएकाले उहाँ साइकलबाट फुत्त ओर्लिनुहुन्थ्यो अनि सकेको बलले मलाई साइकलको क्यारीमै राखेर लामो सास फेर्दै उकालोमा साइकल डोर्याउनुहुन्थ्यो ।