एलिजा उप्रेती
त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानविकी तथा समाजशास्त्र संकायको डिन यसपटक महिलाले सम्हाल्ने अवसर पाएकी छन् । शिक्षाको इतिहासमै विरलै पाएको यो अवसर प्राप्त गर्ने व्यक्ति हुन् प्रा.डा. कुशुम शाक्य । उनले यो अवस्थासम्म आइपुग्ने सोच राखिन् वा राखिनन् त्यो फरक पाटो हो तर जुन स्थानमा उनी अहिले आइपुगेकी छिन्, त्यसले गर्दा उनी समग्र महिलाहरुकै लागि गौरवको पात्र बनेकी छन् ।
देख्नेलाई त उनको यो पद सहजै पाएको लाग्दो हो, विशेषतः अहिले महिला अधिकार, समानताको कुरा चर्को रुपमा उठ्ने समयकालमा । तर यो पदमा आइपुग्दासम्म उनले गरेको संघर्षको लामो फेहरिस्त छ । उनलाई विगतका संघर्षका ती कठिन दिनहरुलाई फर्केर समीक्षा गर्न उनलाई ‘पट्यार’को कुरा लाग्छ र भन्छिन्, ‘मैले तपाईलाई जे जति भने ती सबै सहजै एकपछि अर्को पाउँदै गएजस्तो लाग्दो हो तर यस बीचमा मैले गरेको संघर्ष, त्याग र पेशागत जीवनमा आएको चुनौती निकै पट्यारलाग्दो छ । त्यसकारण मेरो विगत जे भयो भयो, त्यसमा गएर केही फाइदा छैन । यद्यपि, जुन स्थानमा छु ती सबैका कारण मेरो मेहनत र संघर्ष नै हो ।’
पिताको बात्सल्यबिनाको बाल्यकाल
सुनचाँदीका गरगहना तथा भाडाकुडा बनाउने पृष्ठभूमिको परिवारमा जन्मेकी कुशुमका बुबा कनकमान शाक्य कांग्रेसी राजनीतिमा सक्रिय थिए । गणेशमान सिंहसँगै राजनीतिमा लागेका बुबा कनक पञ्चायती व्यवस्थाविरुद्ध कांग्रेसले थालेको आन्दोलनमा सहभागी भएकै कारण तत्कालीन पञ्चायती शासन व्यवस्थाको तारो बने, उनी पटक पटक शासकहरुको कोपभाजनको शिकार बने । कतिसम्म भने उनलाई समात्नका लागि तत्कालीन शाही सेनाले घरमै घेरासमेत हाल्यो । भिन्न विचार र राजनीतिक आस्था बोकेकै कारण ज्यानमा समेत खतरा हुने स्थिति पैदा भएपछि उनका पिताजीका सामु एउटै विकल्प बाँकी रह्यो– या त शासकहरुका सामु आत्मसमर्पण गर्ने या क्रान्तिको मसाललाई निभ्न नदिन निर्वासनमा जाने । उनले दोस्रो विकल्प रोजे । चार महिनाकी छोरी कुशुमलाई छोडेर उनी भारतको निर्वासनमा जान बाध्य भए । यसरी चार महिनाको अबोध उमेरमै कुशुमले बुबाको बात्सल्यबाट बञ्चित बन्नुपर्यो । आमा सूर्यदेवीले उनलाई दुःखले हुर्काइन् ।