प्रधानमन्त्रीको दशै सन्देशमा पुरानै निशानाछाप : कुरीकुरी ओली राष्ट्रवाद !

भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई वालुवाटारमा भेटेलगतै नेपालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेको निशाना छापबाट कालापानी, लिपुलेक र लिँपियाधुरा समेेटिएको नेपालको नयाँ नक्सा गायव भएको छ।
 
उनले देशबासीलाई दशैको शुभकामना दिन आधिकारिक रूपमा प्रयोग गरेको तस्विरको निशानाछाप आफैैं बोल्छ। सही बोली त्यही हो तर उनका गोयबल्सहरूले अब के भन्ने हुन्, अर्कैले फोटफसप गरेको भन्छन् कि, ओली किचेन क्याविनेटको कम्प्युटर नै ह्याक भयो भन्छन्, त्यो सुन्न भने बाँकि छ। यसअघि ढङ्ग नपुर्याएर वा नियतवश गरिएका गल्ती ढाकछोप गर्न प्रयोग गरिएका वालवाटारका औजारहरूलाई हेर्दा यस्तै अनुमान गर्न सकिन्छ।
 
केही दिनअघि ओली क्याविनेटले मन्त्रीहरूलाई दशै खर्च दिने निर्णय गरेकोमा जनआक्रोश बढेपछि पुरानै मितिमा नदिने निर्णय गरेको लेखाएर देश र देशवासीलाई ढाँट्ने काम भएको थियो। यो एक किसिमको किर्ते काम थियो। तर,ओलीका नया कुर्माने बैरागीले त्यस्तै लिखत बनाए। आखिर उनी त्यहाँ अनेक तिकडम गरेर त्यसैका लागि पुर्याइएका उत्तोलक थिए।
 
यो सामान्य गल्ती होइन।असामान्य गल्ती हो। देशको सिमाना नै गलत देखाउने नक्सा प्रयोग गर्नु एक किसिमको राष्ट्रद्रोह नै हो। त्यसमा पनि यसको पुरानो र नयाँ पृष्ठभूमिले यसलाई सामान्य मान्ने छुट दिदैन। केही समयअघि मात्र नेपालको सार्वभौमसम्पन्न संसदले नेपालको संविधान नै संशोधन गरेर अनुसूचीमा नयाँ नक्सा थपेको थियो र त्यसैको आधारमा नयाँ निशाना छाप पनि बनेको थियो। 
 
आखिर यस्तो अक्षम्य गल्ती कसरी भयो ? यो एक खोजबिनको विषय हुन सक्छ। तर, सामान्यत:  भन्ने हो भने यो दुई कारणले हुन् सक्छ। पहिलो कारण हेलचेक्रयाइ,अयोग्यतालगायतका कारणले हुने मानवीय गल्ती । यो गल्ती सामान्य अवस्थामा क्षम्य हुन सके पनि यो राष्ट्रद्रोह भएकाले सम्बन्धित व्यक्ति दोषीको भागिदार हुनुपर्छ। दोस्रो, नियतवश गरिएको काम। यो नियतवश गरिएको पनि हुन सक्छ। किनकि, केही समयअघि मात्र ओलीले नयाँ नक्सा भएको पुस्तक वितरणमा रोक लगाएका थिए र केही दिनअघि मात्र ओलीले भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई वालुवाटारमा भेटेका थिए। उनले भारतलाई खुशी पार्न नियोजित रूपमा ट्राइबलुन गरेका पनि हुन सक्छन्। 
 
तथ्य के हो त्यो त ओली या उनको किचन क्याविनटलाई मात्र थाहा ह।ला । तर, जे भए पनि यो राष्ट्रद्रोह हो। यसमा ओलीलाई शंकाको सुविधा दिन सकिदैन र दिनु पनि हुदैन। 
 
यो पंक्तिकार ओली भारतीय उत्पादन मान्छ। उनी सुरूदेखि नै भारतीय गुडबुकमा छन् र आज उनी जुन अवतारमा प्रस्तुत भएका छन् त्यो सबै भारतीय स्क्रिप्टको कमाल हो। उनको भारतविरोधी राष्ट्रवाद भारतीय राजनीतिक वृतभन्दा पनि खुफिया एजेन्सी रअको तहमा तयार गरिएको विम्व हो। 

प्रधानमन्त्री ओलीको निशानाछापबाट कालापानी, लिपुलेक र लिँपियाधुरा समेेटिएको नेपालको नयाँ नक्सा गायव भएको छ। भारतीय खुफिया एजेन्सी रअका प्रमुखलाई वालुवाटारमा रेडकार्पेट ओछ्याएलगतै भएको यो परिघटना बाघ कराउनु र बाख्रा हराउनु भनेझै संजोग मात्रै हो या त्योभन्दा पर केही पनि हो? यसका बारेमा बहस गर्नुपर्ने बेला भएको छ।

ओलीलाई नेपालमा सत्तारोहण गराउन भारतले तीन चरणमा सहयोग गरेको छ। पहिलो, मदन भण्डारी फाउण्डेसनलाई भारतीय पैसा खन्याएर एमालेको समानान्तर संस्थाका रूपमा ओली गुटलाई पालनपोषण गर्न गाउँपालिकासम्मै विस्तार गरिएको छ। ओलीले आधारभूत रूपमा यही संरचनामार्फत् आजको शक्ति आर्जन गरेका हुन्। दोस्रो, ओलीलाई नेपालमा सत्तारोहण गराउन भारतले नै नाकाबन्दी लगाएको हो। यसो गर्दा उनको भारतविरोधी राष्ट्रवादी छवि बन्यो। तेस्रो, भारतकै योजनामा थप शक्तिसञ्चयका लागि नेकपा एमाले र माओवादीको चुनावी गठजोड र पार्टी एकता गरिएको हो। अन्तत: यही एकताले विद्यादेवीलाई राष्ट्रपति र ओलीलाई प्रधानमन्त्री बनाउन सक्यो। 
 
यी सबै भएपछि दासढुंगा हत्याकाण्डको गुन या रिन छिनोफानो भएको छ। अहिले संकेतकै रूपमा भनौ, रअको स्कृप्टमा धेरै उतारचढाव आए पनि अन्तत: उसले यो कथालाई यही रूपमा बिट मार्यो। हैन भने, ओलीलाई एउटा प्रश्न सोध्न सकिन्छ, उनले भनेका थिए, 'एमालेको सरकार बनेको एक महिनामा मदन भण्डारीको हत्यारा जेलमा हुने छ। पटक पटक एमाले सरकार बन्यो, ओली नै दुई दुईपटक प्रधानमन्त्री भैसके के ले रोक्यो ? अल्पमतको हैन, प्रचण्ड बहुमतकै प्रधानमन्त्री भैसके ओली। त्यति मात्र हैन, मदनपत्नी विद्या भण्डारी दुई दुईपटक राष्ट्रपति भैसकिन् ? किन पुर्याइदैन हत्यारा जेलमा ?
 
प्रश्न सोध्नुपर्ने हैन । तर, कस्ले सोध्ने प्रश्न, प्रचण्डलाई बुहारी जोगाउनु छ। माधव नेपाललाई होली वाइनमा रमाउनु छ, झलनाथलाई सर्प पाल्नु छ। वामदेवलाई ओली टाट्नामा बेला न कुबेला धाँस खानै ठीक्क छ। दोस्रो पुस्ताका नेता भनाउदालाई यो वा त्यो नाममा कमाउनु छ। ओलीभक्तहरूको त कुरा के गर्नु र ? उनीहरूलाई भाङ लागिसकेको छ।  यो ओली भाङले सबैभन्दा बढी गिदीलाई लिदी बनाउँदोरहेछ। 
 
उता नेपालका ओलीभक्तलाई त 'ओली-भाङ' लागेकै छ। यता अमेरिकामा रहेका 'ओलीभक्त' पनि नराम्ररी लट्ठिएका छन्। जन्मेको देश छोडेर, नेपाली नागरिकता त्यागेर अमेरिकी भैसकेपछि पनि के का लागि गिदीलाई लिदी बनाउनुपरेको हो ? यो आफैंमा ताजुबलाग्ने विषय लाग्छ। उनीहरू आफ्नो टाउकोलाई ओली राष्ट्रवादको कुरीकुरी बचाउने टालोमा परिणत गरिरहेका छन्। उनीहरूको त्यो उपक्रम देख्दा यस्तो लाग्छ, दासता भनेको मासिकता रहेछ, त्यसलाई समयको पदचाप र भूगोलको सन्निकटताले पनि खासै फरक नपार्दोरहेछ।
 
बाँकि उनीहरू नै जानुन् ।
प्रकाशित मिति: : 2020-10-23 23:48:00

प्रतिकृया दिनुहोस्