विजया दशमी, दशैं, दुर्गापूजा, दशहरा, नवरात्री आदि नामले विश्वका हिन्दुहरुले पर्व मनाइरहेका छन्। दुर्गाले 'राक्षस' महिषासुरको हत्या गरेको उत्सवका रुपमा यसलाई मनाइन्छ। तर केही वर्षदेखि भारतका केही ठाउँमा (नेपालमा पनि कहीँकतै) 'महिषासुर साहदत दिवस' मनाउन थालिएको छ। यो मनाउन थालिएको धेरै भएको छैन तर तीव्र रुपमा फैलिरहेको छ।
सन् २०११ मा दिल्लीमा जेएनयुका विद्यार्थीले सुरु गरेका थिए। त्यसपछि महिषासुरलाई आफ्नो पूर्खा ठान्ने असुर अन्य केही आदिवासी समुदायले यसलाई निरन्तरता दिइरहेका छन्।
झारखन्ड र छत्तीसगढमा असुर समुदायको बाक्लो उपस्थिति छ। झारखण्डको राजधानी राँचीबाट करिब डेढ सय किलोमिटर टाढा गुमला जिल्लाको सखुआपानी, जोभापाट आदि पहाडि इलामा असुर बस्छन्। झारखण्डमा असुरको जनसंख्या २२ हजार छ।
यसैगरी पश्चिम बंगालको तराई इलाकामा पनि यो समुदाय रहेको पाइन्छ। जगन्नाथपुर कलेजमा इतिहास विभागका प्राध्यापक तथा आदिवासीका विषयमा जानकार जगदीश लोहराका अनुसार असुर बाहेक अन्य आदिवासी समुदायले पनि महिषासुर आफ्नो वंश ठान्छन्। उनीहरु आर्य– अनार्यको लडाइँमा आफ्नो राजा महिषासुर पराजित भएको बताउँछन्।
उनीहरुले दुर्गापूजालाई आफ्नो अपमान ठान्न थालेका छन्। केही वर्ष पहिले छत्तीसगढको कांकेर जिल्लामा दुर्गापूजा मनाइरहेका आयोजक विरुद्ध मुद्दा दर्ता समेत गरिएको थियो। उनीहरुले आफ्नो समुदायको अपमान गरिएको बताएका थिए र महिषासुरको वधको चित्रणले आफ्नो भावनामाथि ठेस पुगेको बताएका थिए।