कुनै समय सडकमा खानकै लागि भौँतारिने र सडकमै रात काट्ने सपना रोक्का मगर अहिले सडकबाट उठेर सडकमै सेवा गर्न लिप्त छिन् । नेपाली समाजमा छोरीहरूले बाबुआमाका अन्तिम संस्कार गर्नुहुन्न भन्ने प्रचलनलाई चुनौती दिँदै बेसहारा जीवन व्यतित गरि मृत्युवरण गरेकाहरूका लागि एकल सन्तान बन्दै आएकी छिन् रोका ।
जो छोरा छोरीले गर्नुपर्ने सम्पूर्ण संस्कार पूरा गरेर बेसहारा शवलाई सम्मान सहित अन्त्य गर्छिन् ।
पशुपतिको आर्यघाट जाँदा धेरैलाई लाग्दो हो कलिला उमेरमा दागबत्ती दिनुपर्ने कति अभागी छोरी रहिछन् भनेर । तर जब तपाईं दिनहुँ जसो पशुपतिको आर्यघाट जानुहुन्छ तब मात्र थाहा पाउनु हुन्छ रोका आफन्तलाई हैन सडकमा सड्न बाध्य शवलाई व्यवस्थापन गर्ने काम गर्छिन् भनेर ।
कोरोना संकट देशैभरी चुलिएसँगै आफ्नै परिवारको मृत शव देखि मानिस तर्किरहँदा उनी भने वीर अस्पताल, टिचिङ जस्ता अस्पतालका सब गृहमा दुरगन्धित बनेका लासहरूलाई उठाइरहिन् । उही माया उही सम्मानका साथ अन्तिम बिदाइ गर्न लागिपरिरहिन् ।
आफूसँगै उमेरका किशोर किशोरीहरू कोही पढ्न त कोहि पैसा कमाउन लागि परिरहँदा उनी भने संक्रमणको जोखिम मोलेरै भए पनि नि:शुल्क अलपत्र परेका लास जलाउन लागि परिरहेकी छिन् । लास जलाएवापत न त उनले कुनै संस्था बाट तलब पाउँछिन् न त कसैबाट सहयोग नै । कर्म बुबा विनयजंग बस्नेतको सहयोगमा निरन्तर सेवामा लागिपरिहेकी भेटिन्छिन् रोका ।
१८ वर्षको कलिलो उमेरमै उनले ३ सय वटा वेवारिसे शवलाई हिन्दु परम्परा अनुसार जलाएर अन्तिम संस्कार गरिसकेकी छिन् ।
रोका हरेक बिहान अस्पतालको शव गृृह जाँदा सडेर गन्ध आइरहेको क्षतविक्षत शवहरूमा आफैंलाई पाउँछिन् । जीवन रहेपनि जीवन विहीन भई सडकमा भौतारिरहेकी सपनालाई पाउँछिन् हरेक शवको अनुहारमा ।