खसी किन्‍न यति धेरै उपभोक्ता आउलान् भन्‍ने खाद्यले नै सोचेको थिएन

थाहा खबर

काठमाडाैं

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय थापाथलीमा यतिखेर दृश्य देख्न सकिन्छ,‘न सामाजिक दूरी कायम, खसी राख्ने ठाउँमा भिडभाडले एउटा पाइला टेक्ने ठाउँसमेत छैन। खसी जोख्ने ठाउँमा ठेलमठेल छ।’ तर, पनि उपभोक्ता एउटा खसीको लागि तँछाडमछाड गर्न छोडेका छैनन्।भिडभाड व्यवस्थापन गर्ने प्रहरी टुलुटुलु हेरेर बसिरहेका देखिन्छन्।

सोही ठाउँमा खसी किन्न आएका दक्षिणकालीका रामशरण खड्का भन्छन्,‘डेढ घण्टा लाइनमा बसेर बल्ल एउटा खसी त पाएँ। अब जोख्नको लागि तीन घण्टा नै लाइनमा बस्नुपर्ने अवस्था छ। भिडभाडले भित्र बस्न नसकेर बाहिर बसिरहेको छु।’ कोरोना महामारीमा यी भिडभाड व्यवस्थापन गर्न नसक्नु खाद्य व्यवस्थाको ठूलो कमजोरी रहेको उनी बताउँछन्।

बिहानदेखि लाइनमा बसेर पनि सोचेको जस्तो खसी,बोका पाउन नसकेको उपभोक्ता गुनासो गर्छन्। पुतलीसडकका राज कुमार केसीले भने जस्तै खसी आयत हुन नसकेको बताए। ‘खसी लिन बिहानै आएको थिएँ,’उनले भने,‘भने जस्तै खसी पाउन सकेको छैन।’ अर्का बौद्धबाट खसी किन्न आएका मोहन राज कार्कीले पनि सहज रूपमा खसी पाउन नसकेको गुनासो पोखे।

उनले भने,‘भिडभाडले कोरोना संक्रमण फैलिन्छ कि भन्ने डर छ। केही व्यवस्थापन छैन रहेछ। यसरी त किन खसी बाँड्नु बन्द गरे भइहाल्यो।’ सरकारले तोकेको स्वास्थ्य मापदण्ड कुनै पालना नगरिएको भन्दै खसी वितरणको लागि सबै व्यवस्थापन गरेर मात्रै बाँड्न उनको माग छ।

प्रकाशित मिति: : 2020-10-19 16:51:00

प्रतिकृया दिनुहोस्