इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आइतबार भएकाे खेलमा कोलकाता नाइट राइडर्सले सुपर ओभरमा सनराइजर्स हैदराबादलाई हराएकाे छ।
हैदराबादलाई जतिको लागि अन्तिम ६ बलमा १८ रनको आवश्यक्ता थियो। तर आन्द्रे रसेलले १७ रन खर्चिदै सुपर ओभरमा पुर्याए।
रसेलले पहिलो बल नै नो गरे। तर फ्रि हिटमा राशिद खानले एक मात्रै रन लिए।
यता कप्तान डेभिड वार्नरले रसेलको बलमा दोस्रो, तेस्रो र चौथो बलमा लगातार चौका प्रहार गरे।
पाँचौ बलमा वार्नरले दुई रन बटुले। अन्तिम बलमा जितको लागि दुई रन आवश्यक थियो। तर वार्नरले अन्तिम बलमा लेगवाईका रुपमा एक रन लिएपछि खेल सुपर ओभरमा पुगेको थियो।
सुपर ओभरमा लोकी फर्गुसनले पहिलो बलमा नै डेविड वार्नरलाई बोल्ड गरेका थिए। दोस्रो बलमा अब्दुल सामादले २ रन जोडे। तर तेस्रो बलमा फर्गुसनले सामादलाई पनि बोल्ड गर्दै टोलीलाई नै मात्र २ रनमा सिमित गरे।
यता कोलकाताका लागि कप्तान ओइन मोर्गन र दिनेश कार्तिक जित सुनिश्चित गरे।
राशिद खानको बलमा मोर्गनले पहिलो बल डट खेले। दोस्रो बलमा उनले एक रन लिए। तेस्रो बल पनि डट भयो। चौथो बलमा लेग बाइमा २ रन जोडेपछि कोलकाता विजयी भयो।
यसअघि जितका लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो।
कप्तान वार्नर ३३ बलमा ५ चौका सहित ४७ रनमा अविजित रहे। योसँगै वार्नर आइपिएलमा ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्। समग्रमा आइपिएलमा ५ हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन्।
हैदराबादकाे लागि यता जोनी बेयरस्टो ३६ रनमा क्याच आउट भए। बेयरस्टोले २८ बलमा ७ चौका प्रहार गरे। यता ओपनर केन विलियम्सन २९ रनमा आउट भए। विलियम्सनले १९ बलमा ४ चौका र १ छक्का प्रहार गरे।
यता अब्दुल सामद १५ बलमा २ चौका र १ छक्का सहित २३ रनमा क्याच आउट भए।
विजय शंकर ७, मनिष पान्डे ६ र प्रियम गर्ग ४ रनमा आउट भए।
कोलकाता ल्योकी फर्गुसनले ४ ओभरमा १५ रन खर्चेर प्रमुख ३ विकेट लिए।
स्पिनर बरुणचक्रबर्तीले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए। प्याट कमिन्सले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। शिवम माभीले एक विकेट लिए।
त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो।
कोलकाताका लागि सुभमन गिलले ३७ बलमा ५ चौकासहित ३६ रन प्रहार गरे।
यता कप्तान ओईन मोर्गन २३ बलमा ३ चौका र १ छक्का सहित ३४ रनको योगदान दिए।
विकेटकिपर दिनेश कार्तिकले १४ बलमा २ चौका र २ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे। नितेश राणाले २० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन बनाए।
राहुल त्रिपाठीले १६ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाए।
आन्द्रे रसेल ९ रनमा क्याच आउट भए।
टि नटराजनले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। राशिद खानले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए। विजय शंकरले ४ ओभरमा २० रन खर्चेर १ विकेट हात पारे। विशाल थाम्पीको नाममा १ विकेट रह्यो।
जारी आइपिएलमा यो तेस्रो सुपर ओभर हो। यसअघि दिल्ली क्यािपल्स र किंग्स इलेभेन पन्जाबबीचको खेलमा पहिलो सुपर ओभर भएको थियो। उक्त खेलमा दिल्ली विजयी भएको थियो।
त्यस्तै मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच पनि सुपर ओभर भएको थियो। उक्त सुपर ओभरमा बेंगलोर विजयी भएको थियो।