नेपाली साहित्यमा कथा विधाको इतिहास दुई शताब्दीभन्दा पुरानो छ। यद्यपि आधुनिक कथाको युग भने निकै ढिलो प्रारम्भ भएको पाइन्छ। राणा शासनकालमै नेपाली साहित्यको श्रीवृद्धिका लागि समर्पित साहित्यिक पत्रिका ‘शारदा’ले विक्रम संवत् १९९२ मा गुरूप्रसाद मैनालीको ‘नासो’ कथा प्रकाशित गरेपछि नेपाली कथा साहित्यको आधुनिक चरण प्रारम्भ भएको मानिन्छ। त्यसअघिका कथाहरू प्रायः धार्मिक, पौराणिक, लोककथा, दन्त्यकथा, परिकथा आदि किसिमका थिए। त्यसैले नेपाली कथा साहित्य इतिहासको कुरा गर्दा स्वस्थानीको कथा, पिनासको कथा, पञ्चतन्त्रको कथा आदिलाई समेत स्थान दिने गरिएको छ। अझ रामायण, महाभारत, विभिन्न पुराणहरू सदियौँदेखि नेपाली जनमानसबीच कथाको अजस्र स्रोतका रूपमा रहिआएका छन्।
हाम्रो कथा साहित्यले आधुनिक चरणमा प्रवेश गरेपछि पुरुष कथाकारका साथै महिला कथाकारहरूले पनि यस विधालाई समृद्ध बनाउन आ–आफ्ना मन–मस्तिष्क र कलम घोटेका पाइन्छन्। पछिल्लो समय राजनीतिक, सामाजिक परिवेशमा आएको परिवर्तनसँगै महिला कथाकारहरू निकै उत्साहजनक रूपमा अघि बढिरहेका देखिन्छन्। विक्रम संवत् १९९२ मै शारदा पत्रिकाले कुमारी तुषारमल्लिकाको ‘स्त्रीरत्न’ कथा प्रकाशित गरेर आधुनिक नेपाली कथाकारितामा नारी हस्ताक्षरको शिलान्यास गर्ने ऐतिहासिक काम गरेको थियो।
पुस्तकको पहिलो कथा ‘पहिलो माया’ देखि अन्तिम कथा ‘अन्तिम निर्णय’ सम्म विचरण गर्दा प्रस्तुत कृति मूलतः मध्यमवर्गीय नेपाली परिवारका महिलाहरूका भोगाइलाई सरल र सरस शैलीमा प्रस्तुत गरिएको सामाजिक यथार्थवादमा आधारित रहेको पाइन्छ।
त्यसपछि देवकुमारी थापा, विद्यादेवी दीक्षित, लोकप्रियादेवी जोशी हुँदै पारिजात, प्रेमा शाह, अनिता तुलाधर, माया ठकुरी, पद्मावती सिंह, भागिरथी श्रेष्ठ, चन्द्रकला नेवा, हिरण्यकुमारी पाठक, भुवन ढुङ्गाना, सीता पाण्डे, आन्विका गिरी, नीलम कार्की निहारिका, शारदा शर्मा आदिले नारी कथाकारिताको यात्रालाई निरन्तरता दिएको पाइन्छ। महिला शिक्षामा आएको वृद्धि, साहित्य लगायत सिर्जनाका क्षेत्रमा महिला वर्गको उत्साहजनक सहभागिता आदि कारण गत तीन दशकदेखि साहित्यका अन्य विधामा जस्तै कथा विधामा पनि नारी सक्रियता निकै बढेको छ। त्यही शृंखलाको पछिल्लो कडीका रूपमा नवोदित कथाकार शोभा ज्ञवाली आफ्ना २५ कथाहरूको सँगालो ‘सम्पूर्ण आकाश’ लिएर कथाकारको पंक्तिमा उभिन आइपुग्नुभएको छ।