बुधबारको मन्त्री हेरफेरअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच यसै विषयमा अनेकौँ चरणमा छलफल भएको थियो। मन्त्रिपरिषद् पुनर्गठनको मोडालिटीदेखि क-कसलाई मन्त्री बनाउने भन्ने विषयमा समेत उनीहरुबीच सरसल्लाह भएको थियो।
मन्त्री बनाउनै पर्ने नेताहरुको सूचीमा थिए, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र जनार्दन शर्मा। तर, बुधबार प्रधानमन्त्री ओलीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई मन्त्री बनाए। पाण्डेले अर्थबाहेक अर्को मन्त्री नखाने बताइसकेका थिए। त्यसैले उनी मन्त्री बनेनन्। तर, मन्त्री बन्न इच्छुक शर्मा किन छुटे त?
पूर्वमाओवादी खेमको प्रतिनिधित्व गर्ने शर्मा नेकपाभित्र चुलिएको संकट समाधानका लागि मरिमेटेर लागेका नेता थिए। बालुवाटार र खुमलटारबीचको सम्बन्ध सुधारमा शर्माको ठूलो भूमिका थियो। ओली र प्रचण्डबीचको वार्तामा पनि शर्मालाई बारम्बार राखिन्थ्यो।