नेपाल राष्ट्र बैंकले २०७७ असोज मसान्तभित्रमा एक वर्षभन्दा बढी अवधि भएको व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा स्थिर ब्याजदर तोक्न निर्देशन दिएसँगै बैंकहरूले नयाँ ब्याजदर तोकेका छन् । बैंकहरूलाई केन्द्रीय बैंकले असोज मसान्तभित्रमा स्थिर ब्याजदर तोकेर कात्तिक १ गतेबाट लागू गर्न निर्देशन दिएको थियो । बैंकहरूको बेस रेट (आधार ब्याजदर) न्यून विन्दुमा आएको अवस्थामा केन्द्रीय बैंकले स्थिर ब्याजदर तोक्न निर्देशक दिँदा केही असन्तुष्ट देखिए पनि कार्यान्वयन गर्नुको विकल्प नरहको बताउँदै अन्ततः बैंकहरूले कात्तिक १ गतेबाट लागू हुने गरी स्थिर ब्याजदर तोकेका हुन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत कर्जाहरू (घर कर्जा, हायर पर्चेज कर्जा, ओभरड्राफ्ट कर्जा) लगायतमा ऋण अवधिभर कुनै पनि ब्याजदर तलमाथि नहुनेगरी स्थिर ब्याजदर लागू गर्ने व्यवस्था गरेको थियो । तर यसमा बैंकरहरूले असन्तुष्टि जनाउँदै आएका थिए ।