पैसा तिर्न नसक्दा बालकको शव तीन दिन अस्पतालमै बन्धक

उपचारमा लागेको एक लाख रुपैयाँ तिर्न नसक्दा विराटनगरको विराट अस्पतालले एक बालकको शव तीन दिनपछि मात्रै परिवारलाई दिएको छ । बुधबार साँझ ऋण निकालेर रकम बुझाएपछि सिराहा नगरपालिका– ४ खरसलवाका दुईवर्षे सिद्धार्थ सदाको शव परिवारले पाएको हो । 

गाउँघरबाट महँगो ब्याजदरमा ऋण निकालेर सबै रकम बुझाएपछि मृत्यु भएको तेस्रो दिन शव पाएको सिद्धार्थकी हजुरआमा कलावती सदाले बताइन् । ‘उपचार गर्दा एक लाख ५० हजार यसअघि नै दिएका थियौँ । उपचारमा लागेको ४० हजार र फार्मेसीको ६० हजार रुपैयाँ ऋण गरेर बुझायौँ,’ कलावतीले भनिन्, ‘केही दिनमा दिन्छौँ भनेका थियौँ, अस्पताले मानेन । शव नै राखेपछि सयकडा तीनका दरले ऋण निकालेर बुझायौँ ।’ अस्पतालले शव दिएपछि बुधबार साँझ नै उनीहरूले घर ल्याएका छन् । 

ठूलाआन्द्रामा समस्या देखिएपछि परिवारले सिद्धार्थलाई १८ असोजमा विराट अस्पतालमा भर्ना गरेको थियो । उनका मामा प्रेमकुमार सदाका अनुसार चिकित्सकहरूले उनको शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यही दिन सिद्धार्र्थको आन्द्राको शल्यक्रिया गरिएको थियो । ‘आन्द्रा काटेर जोड्नुपर्छ भनेपछि सहमति जनायौँ,’ प्रेमकुमारले भने, ‘शल्यक्रियापछि सञ्चो हुनुपर्नेमा छटपटाउने, बेहोस हुने भयो । अस्पतालका चिकित्सकलाई सुनाएपछि एक्सरे गरेर हेर्दा भित्र केही ठाउँमा स्टिच नगरी बाहिर मात्र घाउ स्टिच गरिएको रहेछ ।’ 

त्यसपछि चिकित्सकहरूले दोस्रो शल्यक्रिया गरेर सिलाउँदा ठीक हुन्छ भन्ने सुनाए । सिद्धार्थका परिवारजनले किन लापरबाही गरेको भन्दै सोधपुछ गरेपछि डेढ लाख तिरेर अन्य अस्पताल लैजान भन्दै दबाब दिएको उनले बताए । ‘२३ असोजमा दोस्रोपल्ट शल्यक्रिया गरेपछि पनि निको भएन । नाक र मुखबाट रगत आउन थाल्यो,’ प्रेमकुमारले भने, ‘अवस्था गम्भीर भएपछि फेरि आइसियूमा राखियो । २६ असोजमा आइसियूमै ज्यान गयो ।’ चिकित्सकको लापरबाहीले सिद्धार्थको ज्यान गएको उनको भनाइ छ । 

प्रकाशित मिति: : 2020-10-15 17:46:00

प्रतिकृया दिनुहोस्