नेपाल प्रहरी नेपालीको लागि अपरिहार्य संस्था हो, तर बिडम्बना दिन रात नभनी समाजमा शान्ति सुरक्षा कायम गर्ने र हाम्रो सुरक्षाको निमित्त खटिने यो संस्थाको बारेमा सञ्चार माध्यममा सकारात्मक समाचार अत्यन्तै कम आउँछ।
यो संस्थाका हरेक सदस्य दुधले पखालिएका छन् र उनीहरूको हात बाट गल्ती भएको छैन भन्ने पंक्तिकारको अभिप्राय होइन। तर प्रहरीको नकारात्मक समाचारलाई प्रमुखतापूर्वक लेख्ने हामी कलमजीबी कतिको इमान्दार छौं भनेर छातिमा हात राखेर एकपटक सोच्दा अन्तरआत्माबाट के जवाफ आउला?
यो आलेखको मुख्य उद्देश्य हाम्रो निमित्त अहोरात्र खट्ने प्रहरी माथि समर्पित छ र यसमा सबै सकारात्मक कुरा मात्र आउनेछ, यद्यपी नेपाल प्रहरी भित्र अनेकौं कमी कमजोरी छन् र समयक्रममा सुधार हुँदै जाने छ भनेर आशा गर्न सकिन्छ।
केही समय पहिले एउटा धार्मिक कार्यक्रमको सुरक्षा मा खटिएका एक प्रहरी माथि जुन लज्जाजनक कुटपिट भयो त्यस्तो क्रियाकलाप कुनै पनि सभ्य समाजमा हुँदैन र हुनु पनि हुँदैन, उक्त घटनाको लागि पंक्तिकार खेद प्रकट गर्दछ। पर्याप्त जनशक्तिको अभाव, आधुनिक प्रविधिभन्दा अनुमानको भरमा गर्नुपर्ने अनुसन्धान र समाजको अल्प सहयोग को बाबजुद पनि अपराध अनुसन्धानमा नेपाल प्रहरीले गरेको कार्यको लागि धन्यवाद दिनुनै पर्छ। आज पनि देशका धेरै स्थानमा प्रहरीलाई करिब १२ देखि १४ घण्टा काम गरेर आएपछि राम्रोसँग आराम गर्ने ठाउँ पनि छैन, त्यस्तै स्वास्थवर्धक खाना, नुहाउने र धुने ठाउँ र पर्याप्त पानीको अभाव र सफा शौचालय नहुँदा उनीहरुले धेरै ठूलो समस्या भोग्नुपरेको छ।
यसबाट सजिलै अनुमान लगाउन सकिन्छ कामबाट थाकेर आएको व्यक्तिले राम्रोसँग सुत्न वा आराम गर्न पाउँदैन भने उसको मानसिक र शारीरिक अवस्था कसरी स्वस्थ रहन सक्छ र उसले आफ्नो काम कसरी राम्रो सँग गर्न सक्छ?
त्यस्तै घाम, पानी, धुलो, धुँवा केही नभनी ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिक प्रहरीले पनि बिभिन्न समस्याको बाबजुद जसरी सक्रियतापूर्वक काम गरेका छन् त्यसको लागि उनीहरुलाई धन्यवाद दिनैपर्छ। अनुशासन बिहिन सवारी चालक र बटुवा, खाल्टा खुल्टि भएका सडक र थोत्रा गाडीको जमघट भएको हाम्रो ट्राफिक ब्यवस्थापन गर्न कति समस्या होला त्यो कसैले पनि सोच्दैन, कुनै किसिमले पनि ट्राफिक जाम वा सडक दुर्घटना भयो भने त्यसको दोष सिधै सम्बन्धित ट्राफिक प्रहरीलाई आउँछ, जो सर्वथा गलत छ र त्यो उहाँहरूप्रतिको अन्याय पनि हो।
यसको साथै धेरै पटक सवारी चालकले जानी जानी ट्राफिक प्रहरीको ज्यान लिने उद्देश्यले आक्रमण पनि गर्ने गर्छन्। हाम्रो देशको बिडम्बना त्यस्ता चालकलाई कारबाही गर्न खोज्यो भने राजनीतिक पार्टीले सडक जाम गर्ने जस्ता क्रियाकलाप गर्छन् तर ट्राफिक प्रहरीकोज्यू ज्यानको क्षति हुँदा पनि उनीहरुको पक्षमा बोलिदिने कोहि हुन्नन्।
अनुसासनको नाममा सम्बन्धित विभागले पनि कुनै कारबाही नगर्नाले उनीहरू दोहोरो चापमा परेका छन्। त्यसैगरी ट्राफिक प्रहरीको लागि कुनै शौचालयको ब्यवस्था नभएको कारण अर्को समस्या छ, कुनै सर्वसाधारणलाई दया लागेर आफ्नो निजी सौचालयको प्रयोग गर्न दियो भने अर्कै कुरा, होइन भने सबै सहेर बस्नुपर्ने बाध्यता छ, त्यसमा पनि महिला प्रहरीलाई हुने समस्या अझै बढी हुन्छ। उनीहरुलाई महिनाबारी भएको बेला कति समस्या भोग्नुपर्ला त्यो भुक्तभोगीले मात्र महसुस गर्न सक्छन्।
यसको लागि सम्बन्धित निकायले नगरपालिकासँग सहकार्य गरेर छिटो ब्यवस्था गर्नु जरूरी भइसकेको छ।
यो पेशा अत्यन्तै अपजसे पेशा हो, यसमा सफलताको कुनै गन्ती हुँदैन तर असफलताको एक एक हिसाब दिनुपर्छ, जस्तो फुटबल खेलको गोलकिपर ; उसले कति गोल बचायो त्यसको कुनै गन्ती हुँदैन तर कति गोल छुट्यो त्यो सबैलाई थाहा हुन्छ। आफ्नो काम परेको बेला सित्तैको पेट्रोल लिने र मदिरा सेवन गर्ने तर समाचार बनाउने समय नकारात्मक पक्ष मात्र हेर्ने र विनाकारण बढाई चढाइ समाचार लेख्ने दुवै किसिमका टट्टु पत्रकारको कारण पनि नेपाल प्रहरी बदनाम भएको छ।
त्यस्तै केही कर्तब्यच्यूत भएका प्रहरीको कारण पनि जनतालाई प्रहरीप्रति विश्वास कम हुँदै जाने खतरा रहन्छ।
प्रस्तुत आलेख पंक्तिकारको ह्रदयदेखि नै उठेको भावना हो। सन्चार माध्यममा नेपाल प्रहरीको बारेमा सकारात्मक सूचना आउँदा कतिलाई यो प्रायोजित लाग्नसक्छ, त्यस्ता टाट पल्टेका मानसिकता भएका ब्यक्तिको लागि पंक्तिकार श्री पशुपतिनाथसँग उनीहरुलाई सद बुद्धि दिने कामना मात्र गर्न सक्छ।
बिभिन्न समस्या र अभाव हुँदाहुँदै पनि नेपाल प्रहरीले देश र जनताको शान्ति सुरक्षाको लागि गरेको प्रयासको लागि पंक्तिकार हार्दिक अभिवादन गर्दछ, तर यसको मतलब यो संगठन शत प्रतिसत सहि छ भन्ने अर्थ नलागोस्।