अमेरिकामा डेमोक्र्याटिक पार्टीको महाधिवेशन केही महिनाअघि सकियो। राष्ट्रपतिको उम्मेदवार हुन १६ जनाले प्रतिस्पर्धा गरेका थिए। लिंग, वर्ण, वर्ग र उमेरको भरपुर विविधता थियो।
मुख्य कुरा, पार्टीभित्र ती १६ जनाका आ-आफ्ना स्थायी गुट थिएनन्। राष्ट्रपति बनेर मुलुकलाई नेतृत्व गर्ने आफ्नै सपनाको तागतमा उनीहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए। अन्तिममा जो बाइडेन डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चुनिए। उनी अहिले डोनाल्ड ट्रम्पसँग राष्ट्रपतिको प्रतिस्पर्धामा छन्।
हाम्रो मुलुकका दुबै ठूला प्रमुख पार्टी: नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेस पनि महाधिवेशनको संघारमा छन्। सत्तारूढ नेकपाभित्र आउने महाधिवेशनमा प्रतिस्पर्धा हुन्छ वा आन्तरिक लोकतन्त्र कुण्ठित गर्दै भागबन्डा र पद बाँडफाँटमा टुंगिन्छ, एकिन छैन। आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रका सवालमा नेकपाको एमालेकरण हुन्छ वा माओवादीकरण हुन्छ भन्ने आउने महाधिवेशनले टुंगो गर्नेछ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा भने आगामी महाधिवेशनमा चुनावी प्रतिस्पर्धा पक्काजस्तै छ। सभापति शेरबहादुर देउवा र उनीइतर समूह गरेर आधा दर्जन नेता सभापति पदका आकांक्षी देखिएका छन्। कति गज्जब हुन्थ्यो, कांग्रेसको नेतृत्व लिने चाहना भएका यी नेताले डेमोक्र्याटिक पार्टीको प्राइमरीमा जसरी गुटविहीन प्रतिस्पर्धा गरे।
हाम्रा दुबै मूल पार्टीका नेता भने बारम्बार भन्छन्- यो अमेरिका होइन। अमेरिकाजस्तो खोजेर हुन्छ? जनता जस्ता छन्, हामी नेता त्यस्तै छौं!
यो, नेताहरूले लाज पचाउन भन्ने कुरामात्र हो। खासमा जनताभन्दा नेताले लत्तो छाडेको देश हो नेपाल। कांग्रेस र नेकपाका नेता-कार्यकर्ताको ठूलो पंक्तिसँग संघर्ष, जेलनेल र त्यागको इतिहास छ। केही गर्छु भन्ने चाहना पनि छ। तर चाहनाले मात्र काम फच्चे कहाँ हुन्छ? ढंग चाहिन्छ।
धेरै नेताको ढंग मरू!
दुबै पार्टीका बहुत थोरैमात्र नेतासँग मुलुक हाँक्न सक्ने व्यस्थापकीय क्षमता, लगन, इमान र आत्मविश्वास छ। त्यसैले त कांग्रेस वा नेकपा जो सत्तामा गए पनि परिणाम उही आउने गरेको छ। बहुसंख्यक मन्त्रीले म के गर्दैछु, किन गर्दैछु भन्ने भेउ पाउन्नन्। इमान पनि नभएकाले त सत्तालाई भष्मै बनाएर छाड्छन्।
पार्टीका कैंयन् नेताहरूभन्दा धेरै क्षमता, लगन र कल्पनाशीलता भएको ठूलो तप्का समाजका विभिन्न क्षेत्रमा क्रियाशील छ। आफ्नो ठाउँमा उसले काम गरेको छ, क्षमता देखाएको छ, परिणाम निकालेको छ। त्यो तप्कालाई लाग्न थालेको छ- राजनीतिले समाजलाई पछाडि पार्यो। हाम्रो प्रगतिमा राजनीति सहयोगी होइन, बाधक बन्यो। यो असन्तोष पार्टीहरूका लागि खतराको घन्टी हो।
पार्टीका नेता-कार्यकर्ता भने यो मान्न तयार छैनन्। क्षमता नभएका मानिसले प्रायः आफूजस्तै मानिस भेट्छन्। इमान नभएकाले बेइमानकै संगत गर्छ। बेइमानसँग इमान भएको मानिस टाढिन्छ। यसरी भेडा भेडासँग, बाख्रा बाख्रासँग छुट्टिँदै जान्छ।
धेरै नेता-कार्यकर्ताले अक्सर आफूजस्तै मानिस भेट्छन्। उनीहरूको अनुहारमा आफूलाई देख्छन्। आफूमा उनीहरूलाई भेट्छन्।