अन्ततः १२ दिनपछि ट्रम्प कोरोना संक्रमणमुक्त, पुनः सुरु गरे चुनावी अभियान

अन्ततः १२ दिनपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणमुक्त भएका छन्। 

ह्वाइट हाउस फिजिसियन डा शन कन्लीले स्थानीय समय अनुसार सोमबार बेलुका ट्रम्पकोरोना संक्रमणमुक्त भएको जानकारीदिएका हुन्। 

उनका अनुसार पछिल्लो पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। 

‘उहाँको रिपोर्ट नेगेटिभ आएको छ। उहाँ संक्रमणमुक्त हुनुभइसकेको भएकोले अरुमा संक्रमण फैलिदैन,’ डा कन्लीले जारी गरेको वक्तव्यमा भनिएको छ।

गएको २४ घन्टाभन्दा बढी समयदेखि उनलाई कोरोनाभाइरसको कुनै लक्षण नदेखिएको उनका चिकित्सक डा कन्लीले जानकारी दिए।

अक्टोबर १ मा ट्रम्पमा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी तीन दिनसम्म अस्पताल बसेका थिए। ट्रम्पले रेजेनेरोन फार्मास्युटिकल्स् नामक कम्पनीले बनाएको औषधि प्रयोग गरेका थिए। 

यसअघि ह्वाइट हाउसले ट्रम्पको रिपोर्ट देखाउन आनाकानी गर्दै आएको थियो। ट्रम्पको  पछिल्लो जाँच कहिले गरियो भन्ने पनि खुलाइएको थिइएन। यद्यपी संक्रमण भएको एक हप्तापछि नै ट्रम्प ओभल अफिस फर्किएर कर्मचारीसँग कामबारे जानकारी लिएका थिए।

ट्रम्पले शनिबार भने ह्वाइट हाउसको बालकनीबाट समर्थकहरूको अभिवादन स्विकार गरेका थिए। 

अमेरिकी राष्ट्रपतिको चुनाव नजिकिँदै जाँदा ट्रम्पसहित थुप्रैलाई कोरोना संक्रमण भएको थियो। ट्रम्प केही दिन मेरील्याण्डस्थित अस्पतालमा भर्ना भएका थिए। तर, छिट्टै स्वास्थ्य लाभ गरेर उनी ह्वाइट हाउस फर्किएका थिए।

कोरोना भाइरसबाट मुक्त भएका ट्रम्प चुनावी अभियानमा सामेल भएका छन्। उनले फ्लोरिडाको सनफोर्डमा चुनावी सभालाई सम्बोधन गरेका छन्।

उनले आफू ‘इम्यून’ भएको र अब भाइरसले आफूलाई आक्रमण गर्न नसक्ने बताएका छन्। यद्यपी यही ट्वीटरले उनको यस्तै कुराले भरिएको ट्वीट भ्रामक भएको भन्दै हाइड (लुकाएको) छ। 

तर, ट्रम्पले अब आफूले अंकमाल गर्ने बताएका छन्। कोरोना भाइरसलाई आफूले पराजित गरेको र सबैले पराजित गर्ने दाबी ट्रम्पले गरेका छन्।

प्रकाशित मिति: : 2020-10-13 06:54:00

प्रतिकृया दिनुहोस्