बंगलादेशमा आन्दोलन चर्किएपछि कानून संशोधन, बलात्कारीलाई मृत्युदण्ड दिइने

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएकाे विधेयक पारित गरेको छ। 

मुलुकभर आन्दोलन चर्किएसँगै सरकारले कानून संशोधन गरी अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखेको हो।

सोमबार बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको बताएका हुन्। 

पारित गरिएको विधेयकअनुसार बंगलादेशमा बलात्कारको मुद्दामा दोषी पाइएका अभियुक्तलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ। 

कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी हुने र तत्काल लागू हुने बताए।

अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो। 

गएको हप्ता बंगलादेशको विकट दक्षिणी क्षेत्रमा एक महिलालाई पुरुषहरुको एक समुहले अपहरण गरी सामुहिक बलात्कार गरेका थिए।

बलात्कार गरिएको भिडियाे सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो। त्यसपछि मुलुकमा बलात्कारको घटनामा दोषीलाई हदैसम्मको सजायको माग राख्दै बंगलादेशभर ठूलो प्रदर्शन भयाे।

प्रहरीले अहिलेसम्म उक्त घटनामा संलग्न आठ जनालाई पक्राउ गरिसकेको छ। 

ऐन ओ सलिश केन्द्र नामक एउटा मानव अधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा यहाँ कम्तीमा नाै सय ७५ जना महिला बलात्कृत भएका थिए। तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका छन्।

पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेकाे तथ्याङ्क छ। बङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ। 

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा साेमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो।

प्रकाशित मिति: : 2020-10-12 21:17:00

प्रतिकृया दिनुहोस्