सप्तरी र सिराहाका थप दुई कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ।
सप्तरीको रुपनी गाउँपालिका १ का ३३ वर्षीय पुरुष र सिराहाको लहान नगरपालिका ६ का ४८ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो।
सप्तरीका पुरुष सब इन्जिनियर हुन्। मुटु सम्बन्धी रोगबाट पीडित उनी उपचारका लागि काठमाडौंको मेडिकल कलेजमा भर्ना भएका थिए।
उपचारकै क्रममा स्वाब संकलन गर्दा पोजेटिभ आएको र उनको बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।
यता सिराहा लहानकी ४८ वर्षीया महिलाको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।
ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई गत असोज १३ गते पाटन अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएका उनको उपचारको क्रममा असोज १९ गते मृत्यु भएको थियो।
तर, आज मात्रै जानकारी आएको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए।