कोरोनाका २५ हजार सक्रिय संक्रमितको 'माइलस्टोन' : दशै‌ंको मुखमा सरकारको नयाँ रणनीति !

लोकान्तर

काठमाडाै‌

यही असोज ७ गते नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघे पुनः लकडाउन हुने बताएका थिए ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकको निष्कर्ष भन्दै डा. गौतमले लकडाउनको विषय उठाएपछि पुनः घरभित्रै थुनिनुपर्ने भन्दै जनता त्रस्त बने । 

त्यसदिन देशभरि सक्रिय संक्रमितको संख्या १७ हजार ४ सय १४ थियो ।

१५ दिनको अन्तरालमा सक्रिय संक्रमितको संख्या ह्वात्तै बढेर २५ हजार ७ पुग्यो । यो बुधवारको तथ्यांक हो । अहिले पनि धेरैको प्रश्न छ, के अब लकडाउन हुन्छ त ? 

स्वास्थ्य मन्त्रालय स्रोतले लकडाउनकै स्वरूपमा नभएर फरक ढंगले एक्सन लिने गरी सरकार अघि बढिरहेको जनाएको छ ।

एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'संक्रमितको संख्या बढिरहेको छ, अस्पतालमा बेडको अभाव देखिएको छ । यत्तिकै बस्न त मिल्दैन । केही न केही गर्नै पर्छ ।'

उनले निश्चित ठाउँहरू ब्लक गर्ने गरी काम अघि बढिरहेको बताए ।

'हामीले प्रस्ताव बनाएर सीसीएमसीमा लैजाने हो, त्यहाँबाट भएको निर्णय सरकारले कार्यान्वयन गर्छ । निश्चित ठाउँहरू ब्लक गर्ने विषयमा छलफल चलिरहेको छ ।'

प्रकाशित मिति: : 2020-10-08 17:36:33

प्रतिकृया दिनुहोस्