प्रधानमन्त्री केपी शर्मा ओलीले केहीअघि त्रिभुवन विश्वविद्यालयको शिर उचो हुने गरी एउटा भनाइ राखे - त्रिवि पनि क्याम्ब्रिज, अक्सफोर्ड, तक्षशिलाजस्ता विश्वका चर्चित विश्वविद्यालय सरह हो। उनको यही चर्चित भनाइलाई लिएर मानिसहरुले ब्यङ्ग्य पनि गरे। विश्वविद्यालयभित्र र बाहिरका जो कसैका लागि पनि यति धेरै प्रशंसा पाच्य थिएन। किनकि विश्वविद्यालयको स्कुलिङको एउटा उदाहरण हालै सार्वजनिक भयो - समाजशास्त्र विभागका उपप्राध्यापकमाथिको आक्रमणबाट। प्रधानमन्त्री ओलीले त्रिविको प्रशंसामा खर्चिएका शब्दहरुको विरुद्ध यो एकमुष्ठ जवाफमात्र होइन, हामी विश्वविद्यालयभित्र रहेर के सिकाइरहेका र के सिकिरहेका छौं भन्ने लेखाजोखाका रुपमा पनि यस प्रकरणलाई लिन आवश्यक छ। विश्वविद्यालयको गिर्दो शाखलाई यसले मलजल गरेको छ। उत्ताउलो अराजकता स्थापित भएको छ र यस्ता गतिविधिलाई राजनीतिक आवरणमा सुरक्षित अवतरण गराउनेहरुको सक्रियता बढेको छ। विश्वविद्यालयमा यस्तो किन भइरहेको छ त? उत्तर होलसेलमा एउटै हो - अनैतिक राजनीति।
मुलुकलाई सही दिशा देखाउने भूमिकामा हुनुपर्ने प्राध्यापकहरु त्यो भूमिकामा अहिले कहाँ छन्? यो प्रश्नको उत्तरले नै विश्वविद्यालयमा मात्र होइन समग्र मुलुकमा हामी कति रसातलमा भाँसिएका छौं भन्ने यथार्थलाई उजागर गर्छ। राजनीतिक नेतृत्वले विश्वविद्यालयका गुरुहरुसँग मार्गदर्शनका लागि आग्रह गर्ने परम्परा नेपालमा करिबकरिब समाप्त भइसकेको छ। एउटा सानो पदका लागि जब प्राज्ञहरु आफ्नै प्राज्ञिक हैसियतलाई तिलाञ्जली दिएर नेताका घरका ढोका ढुक्न थाल्छन्, विश्वविद्यालय मर्ने क्रम सुरु हुन्छ। बाटो देखाउने गुरुहरुको प्राथमिकता नेताको घरका ढोके र हुक्केभन्दा फरक नभएपछि निम्तने नै दुस्परिणाम हो। मुलुकमा अस्थिर राजनीति कायम हुनुमा विश्वविद्यालय अदुरदर्शी नेतृत्वको उत्पादनको कारखाना बनिरहनु मुल कारण हो।