सरकार र डा. केसीबीच वार्ता सुरु

 चिकित्सा शिक्षा सुधार अभियन्ता वरिष्ठ चिकित्सक गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सरकारले वार्ता गर्न टाेली पठाएकाे छ।

सरकारले शिक्षा सचिव गोपी मैनालीको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ भने डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनेको छ। उक्त टाेलिले केहीबेर अगिबाट वार्ता सुरु गरेकाे छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सुरु भएको वार्तामा डा. केसीले अघि सारेको ६ बुँदे मागबारे छलफल हुने बताइएको छ। 

२४ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

अक्सिजनको सपोर्टमा रहेका उनको बुधबारदेखि रक्तचापमा पनि कमी आएको छ। जिउ गल्ने, चक्कर लाग्ने, मुटुको धड्कनमा उतारचढाब, मांसपेशी दुख्ने, डब्लुबिसी, सुगर र पोटासियमको मात्रामा कमी जस्ता समस्या पनि उनमा देखिएका छन्।

त्रिवि शिक्षण अस्पतालले बिहिबार केसीको रक्तचाप नाप्दा आवश्यकभन्दा निकै कम देखिएको जानकारी गराएको छ। केसीलाई तत्कालै आइसियुमा राखेर उपचार गर्नुपर्ने चिकित्सकहरूको भनाई छ। केसीले तत्काल अनशन नतोडे जुनसुकै बेला ज्यान तलमाथि हुनसक्ने उपचारमा संलग्न चिकित्सक बताउँछन्।

भदौ २९ देखि जुम्लाबाट सुरू भएको केसीको १९औं पटकको यो अनशनप्रति विभिन्न राजनीतिक दल, पूर्वप्रधानमन्त्रीहरू, नागरिक समाजका अगुवा, लेखक, बुद्धिजीवी, प्राध्यापक, चिकित्सक, सर्वसाधारणलगायतले ऐक्यबद्धता जनाउँदै वार्ताका माध्यमबाट उनका माग सम्बोधन गर्न ध्यानाकर्षण गराए पनि सरकारले बल्ल औपचारिक रूपमा वार्ताका लागि समिति गठन गरेको हाे।

प्रकाशित मिति: : 2020-10-08 11:53:43

प्रतिकृया दिनुहोस्