कवि केवल बिनाबीको कविता ‘छोइडुम’ यसकारण पनि चर्चित भयो कि, त्यसले राजधानी काठमाडौंमा सरकारकै नाकमुनि भइरहेको जातीय विभेदलाई उजागर गरिदियो। कवितामा एक पुस्ता मात्र होइन तीन पुस्ताले भोगेको छुवाछूतलाई मर्मस्पर्शी ढंगले उल्लेख गरिएको छ। कलिलो मस्तिष्कमा परेको विभेदको छाप निकै खतरनाक छ। त्यसैले होला कविले आक्रोशपूर्ण रुपमा कविता टुङ्ग्याएका छन्। अन्तिम दुई लाइनमा लेखेका छन्, ‘कलिला हातहरुमा यो राज्य कलम थमाउँछ कि हतियार?’
टंक चौलागाईंको उपन्यास ‘उबडखाबड’ पढुन्जेल कवि बिनाबीको कविता छोइडुमकै सम्झना आइरह्यो। ‘छोइडुम’ कविता मात्र नभएर कवि आफैंले भोगेको जिन्दगी पनि हो। त्यस्तै उतारचढावको जिन्दगी भोगेको छ, चौलागाईंको उपन्यासको मुख्य पात्र जीवन नेपालीले।
तर, छोइडुम कवितामा झैँ जीवन नेपालीमा कुनै आक्रोश छैन। असाध्यै अन्यायमा पनि शान्त छ। विभेदमा पनि शान्त छ। चरम गरीबीमा पनि शान्त नै छ। उसको जीवन यति शान्त छ कि उपन्यासले समाएको बाटोमा मुख्य पात्रको भूमिका अपवाद लाग्छ। विद्रोही हुनुपर्ने पात्र अस्वाभाविक शान्त हुनु पात्रमाथि नै अन्याय होइन?
यो प्रश्न उपन्यासकारसँग उनकै पात्रले पनि सोधेको छ। अचानक भेट भएको उनको पात्रले उपन्यासको अन्त्यसँग असहमति जनाउँछ। जीवन नेपालीले विद्रोह नगरेकोमा चित्त बुझाउँदैन। बरु आफूले त्यहींबाट अर्को उपन्यास लेख्ने ‘धम्की’ दिन्छ।
यसरी लेखकले शुरुमै ‘प्रस्तावनाः उबडखाबड’मार्फत उपन्यासको अन्त्य उल्लेख गरिदिएका छन्। त्यहाँ यो उपन्यासमा कतै नभेटिने तर, आफ्नै अघिल्लो उपन्यासको पात्रलाई अचानक भेटेका छन्। अनि उपन्यासमा लेख्न नसकेको विद्रोहबारे त्यही पात्रबाट असन्तुष्टि पोख्ने ‘चलाखी’ गरेका छन्। त्यसकारण उनी उपन्यास लेखनको चल्तीको बाटोबाट थोरै बाहिर निस्किएका छन्।