दशैंअघि बनिसक्लान् वर्षातमा बिग्रिएका सडक ?

अनलाइनखबर

काठमाडौं

२१ असोज, काठमाडौं । दशैं आउन दुई साता मात्रै बाँकी छ, अहिले देशभरका धेरै राजमार्ग र सडकहरुको अवस्था वर्षातका कारण चुस्त छैन । यसले गर्दा ‘दशैं यात्रा’ सजिलो र सुरक्षित नहुने हो कि भन्ने डर रहेको बताउँछन् यातायात व्यवसायीहरु ।

कतिपय स्थानमा सडकमा पहिरो खसेका छन् भने भने कतिपय मर्मत नगरी सवारी चलाउन समस्या छ । कतिपय सडकको पुल नै बगाएर समस्या भएको छ भने कतिपय सडक सञ्चालनमा रहेपनि खाल्डाखुल्डीले गर्दा समस्या छ ।

सडक विभागको भनाइ पत्याउने हो भने राजमार्गका सडकमा परेका खाल्डा पुर्ने र पहिरो हटाउने काम सुरु छ, दशैंका लागि घर फर्किने यात्रुलाई ठूलो सास्ती नहुने गरी सडक मर्मतको काम गरिसक्ने दावी सडक विभाग छ ।

महामारीका कारण यो वर्षको दशैंमा काठमाडौंबाट मात्रै करिब ५ लाख यात्रु बाहिरिने अनुमान छ । यस्तै विभिन्न शहरमा बसेकाहरु गाउँघर फर्किने भएकाले यो दशैंमा ठूलो संख्यामा यात्रुको आवागमन हुन्छ । दशैंमा टीका थाप्न पनि त्यतिकै संख्यामा यात्रुहरु एक गन्तब्यबाट अर्को गन्तब्यमा पुग्छन् ।

सामान्यभन्दा धेरै सवारीसाधन र तिनमा सवार यात्रु चलायमान हुने बेला आइसक्दा पनि राजमार्गको खाल्डा पुर्न चासो नदिइएको गुनासो स्थानीयहरुले गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला दशैंअघि नै सडकहरुको चुस्त बनाउनुपर्ने बताउँछन् । ‘यात्रुको सुरक्षाको प्रश्न त छँदैछ, सडकको दुरावस्थाले सवारी सञ्चालन गर्नै असहज हुने हुनसक्छ,’ उनले भने, ‘जसरी हुन्छ दशैंको आवागमन बाक्लिनुअघि नै सडकको अवस्था सुधार्नुपर्छ ।’

प्रकाशित मिति: : 2020-10-07 15:37:54

प्रतिकृया दिनुहोस्