बिपी प्रतिष्ठानमा २५ करोडको सिटी स्क्यान खरिद विवादमा

बिपी कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले थालेको २५ करोड रुपैयाँसम्मको सिटी स्क्यान उपकरण खरिद प्रक्रिया विवादमा परेको छ।

प्रतिष्ठानले असार २८ मा उक्त मूल्य बराबरको आधुनिक सिटी स्क्यान उपकरणको टेन्डर आह्वान गरेको थियो।

विभिन्न चार वटा कम्पनीले टेण्डर भरेकोमा कसैले पनि निर्देशित विशेषताको सिटी स्क्यान ल्याउने प्रतिवद्धता जनाउन सकेका छैनन्।

प्रतिष्ठान नेतृत्वले विशेषता नमिलेकै मध्येबाट कम कबोल गर्ने कम्पनीको टेन्डर सकार्न खोजेपछि मूल्यांकन समितिले अस्वीकार गरेको छ।

मूल्यांकन समितिले नमानेपछि प्रतिष्ठानको सो टेन्डर विवाद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सार्वजनिक खरिद अनुगमन कार्यालयमा पुगेको छ।

आन्तरिक रुपमा मूल्यांकन गरी टेन्डर प्रक्रिया टुंग्याउन नसकेपछि प्रतिष्ठानले राय माग्दै अनुगमन कार्यालयलाई चिठी लेखेको छ। साधारणत: ढंग नपुर्‍याइकन टेन्डर गरेपछि विवाद मिलाइदिन कार्यालयहरूले अनुगमन कार्यालय गुहार्ने गरेको सचिव मोहनकृष्ण सापकोटा बताउँछन्।

‘बिपी प्रतिष्ठानको खरिदसम्बन्धी विवाद मिलाइदिन आएको चिठी मंगलबार दर्ता भएको छ,’ सचिव सापकोटाले सेतोपाटीसँग भने, ‘सुरूमा टेण्डर प्रक्रिया कानुनसम्मत गर्दैनन्, अनि हामीलाई विवाद मिलाइदिनु परो भनी चिठी लेख्छन्, यस्ता सयौं फाइल हामीसँग छन्।’

प्रतिष्ठानले उच्च गुणस्तरको सिटी स्क्यान मेसिन खरिद गर्ने भनी बोलपत्र प्रक्रिया थालेको थियो।

उक्त टेन्डरमा म्याक्स मेडिटेक्सले सबैभन्दा कम कबोल गरेको थियो। उसले १३ लाख ६० हजार अमेरिकी डलर (१६ करोड ७२ हजार रुपैयाँ) मा सिटी स्क्यान ल्याउने भनेको छ।

प्रकाशित मिति: : 2020-10-07 15:29:21

प्रतिकृया दिनुहोस्