एक वर्षअघि नै प्रधानमन्त्रीको हातमा सतर्कता केन्द्रको प्रतिवेदन : मेडिकल कलेजले ठगे तीन वर्षमा तीन अर्ब

मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै

शिक्षामा सरकारले तोकेभन्दा मेडिकल कलेजले १८ लाख रुपैयाँसम्म बढी शुल्क लिए भनेर अभिभावक रोएका छन्, विद्यार्थीले नारा लगाएका छन्, डा. गोविन्द केसी पटकपटक अनशन बसेका छन् । यो सारा आवाज सरकारले उपेक्षा गरेको छ । त्यति मात्र होइन, सरकारले नै गठन गरेको छानबिन समितिको ठहर छ– मेडिकल कलेजले तीन वर्षमा तीन अर्ब ठगी गरे । अभिभावक रुवाउने, विद्यार्थी तर्साउने यी मेडिकल कलेजलाई कुनै कारबाही गर्न नसक्ने सरकार डा. केसीसँग भने दम्भ देखाउँदै छ । 

सरकारले नै गठन गरेको छानबिन समितिले मेडिकल शिक्षाका नाममा भइरहेको लुटको भयावह तस्बिर फेला पारेको हो । ‘नेपाली विद्यार्थीबाट मात्र तीन वर्षमा तीन अर्बभन्दा बढी असुल गरिएको छ, विदेशी विद्यार्थीबाट उठाइएको शुल्क बेहिसाब छ,’ छानबिन समितिको ठहर छ । 

मेडिकल कलेजमा भइरहेको अवैध असुलीबारे विद्यार्थी, डा. केसी र मिडियाले लगातार आवाज उठाएपछि सरकारले सतर्कता केन्द्रका डिआइजी कमल अधिकारीको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले सन् ०१५ देखि १८ सम्म मेडिकल कलेजहरूमा विद्यार्थी भर्ना संख्या, विभिन्न शीर्षकमा उठाइएको शुल्कलगायतका विषयमा स्थलगत अध्ययन गरेको थियो । 

६ महिना अध्ययन गरेर तयार पारेको प्रतिवेदन राष्ट्रिय सतर्कता केन्द्रले गत वर्ष ७ कात्तिकमा प्रधानमन्त्रीलाई बुझाएको थियो । ‘गैरकानुनी रूपमा लिएको अतिरिक्त शुल्क फिर्ता नगरे सञ्चालकहरूलाई ठगी मुद्दा चलाउन समितिले समेत सिफारिस गरेको थियो । तर, अहिलेसम्म न कसैलाई कारबाही भयो, न पैसा फिर्ता भयो,’ सतर्कता केन्द्रका एक अधिकारीले नयाँ पत्रिकासँग भने ।

पोखराको गण्डकी मेडिकल कलेज, भरतपुरको चितवन मेडिकल कलेज, वीरगन्जको नेसनल मेडिकल कलेजमा विद्यार्थीले आफैँ आन्दोलन गरेर पैसा फिर्ता गर्न दबाब दिएका थिए । तर, सरकार आफैँले कसैलाई पनि कारबाही गरेको छैन । 

 

गण्डकी मेडिकल कलेज
ठगी : ४३ करोड ५ लाख

पोखराको गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट तीन वर्षमा ४३ करोड चार लाख ९० हजार ठगी गरेको छ । सन् ०१७÷१८ को ब्याचबाट मात्र १५ करोड ८० लाख ६० हजार ठगेको छानबिन समितिको ठहर छ । ठगी प्रकरणमै कलेज सञ्चालक खुमा अर्याललगायत विरुद्ध दुई वर्षअघि अदालतमा मुद्दा परेको थियो । धरौटीमा छुटेका उनीहरूले अहिले पनि ठगी जारी राखेका छन् । 

प्रकाशित मिति: : 2020-10-07 08:51:46

प्रतिकृया दिनुहोस्