कुख्यात अपराधी डेभिड : जसले पसिना बेच्न मलेसिया गएका नेपालीलाई बन्धक बनाए

मलेसियामा बन्धक रैदासलाई काठमाडौँ ल्याउने तयारी

सुजन पन्त

काठमाडौं

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई एउटा फोन आयो । असार १४ मा फोन गर्नेले भने, ‘एउटा ब्याड न्यूज छ ।’ सो कल नेपाल राष्ट्र बैङ्कका फाइनान्सियल इन्भेष्टिगेशन युनिटका प्रमुखले गरेका थिए ।

राष्ट्र बैङ्कका ती अधिकृतले थापालाई भने, ‘श्रीमान्लाई अपहरणमुक्त गराउन एक महिला हिमालय बैङ्कको दाङको घोराही शाखामा १२ लाख डिपोजिट गर्न गएकी छिन् ।’

अपहरण, अनि फिरौतीका लागि १२ लाख ! डीआईजी थापाका लागि सो सूचना साँच्चै ‘ब्याड’ थियो । थापाले तत्काल ब्यूरोका अधिकृतहरुलाई घटनाको अनुसन्धान थाल्न निर्देशन गरे ।

१० लाख बढी पैसा झिक्दा र डिपोजिट गर्दा बैंकले स्रोत खोज्ने हुनाले सो तथ्य खुलेको थियो । बैङ्कका कर्मचारीले रकम डिपोजिट गर्नुको कारण सोध्दा ती महिलाले भनिन्, ‘मलेसियामा श्रीमानलाई ६ दिनदेखि बन्धक बनाएको छ, अपहरण गर्नेले फिरौती रकम पाए छाड्छु भन्छ ।’

दाङका मध्म रैदासलाई मलेसियामा उनकै मालिक दुर्गाबहादुर श्रेष्ठ उर्फ डेभिडले बन्धक बनाएका थिए । ‘१२ लाख नबुझाए रैदासलाई मारिदिन्छु’ भनेर डेभिडको नाममा पैसा डिपोजिट गर्दिनु भनेपछि ती महिला ऋण खोजेर बैङ्कमा गएकी थिइन् ।

हिमालयन बैंकको घोराही शाखाले काठमाडौँस्थित मुख्य कार्यालयमा जानकारी गराएपछि घटना सीआईबीसम्म पुगेको हो । ‘राष्ट्र बैङ्क हुँदै मलाई खबर आयो,’ डीआईजी थापाले भने, ‘हिमालयन बैङ्कमार्फत पीडितको नाम, ठेगाना पत्ता लगाएर अनुसन्धान अघि बढायौँ ।’

रैदासकी पत्नीलाई घटना प्रहरीमा पुगेको थाहै थिएन । आत्तिनसक्ने भएकाले ती महिलासँग थप बुझ्न प्रहरीले एनजिओ, आइएनजिओको प्रतिनिधी बनेर सम्पर्क गरेको थियो । पछि, ती महिला कन्भिन्स भइन् ।

‘गम्भीर अपराधको सुराक पाएको हुनाले हामी पहिले एक्सपोज भएनौँ,’ डीआईजी थापाले भने, ‘विस्तारै ती महिलालाई हामीले फोनमार्फत नै प्रहरी हो भन्यौँ ।’

ब्यूरोको आग्रहपछि उनले डेभिडविरुद्ध ‘अपहरण र शरीर बन्धक’ कसुरमा जाहेरी दिइन् । लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा ती महिलाले दुर्गाबहादुर श्रेष्ठ भनिने ‘डेभिड’ विरुद्ध जाहेरी दिएकी हुन् । श्रीमानको सल्लाहमा उनले जाहेरी दिएको डीआइजी थापाले बताए ।

प्रकाशित मिति: : 2020-10-07 00:08:31

प्रतिकृया दिनुहोस्