एक जादुगरले धर्ती छाडेको दिन

एप्पलका संस्थापक स्टिभ जब्सको नवौं पुण्यतिथिका दिन एप्पलका वर्तमान सिइओ टिम कुकले सोमबार ट्विट गरेको फोटो।

'महान आत्माको कहिल्यै निधन हुँदैन। यसले बरू हामीलाई बारम्बार नजिक ल्याइरहन्छ।'

एप्पल कम्पनीका सिइओ टिम कुकले संस्थापक स्टिभ जब्सको सम्झनामा सोमबार ट्विट गरे- 'तिमी सधैं हामीसँगै छौ। तिम्रो सम्झनाले हामीलाई सधैं प्रेरणा दिइरहेका हुन्छन्।'

सोमबार, अर्थात् अक्टोबर ५ स्टिभ जब्सको पुण्यतिथि हो। स्टिभ बितेको ९ वर्ष पूरा भएको छ। पित्तथैली क्यान्सरले सन् २०११ अक्टोबर ५ मा उनको निधन भएको थियो। उनी ५६ वर्षका थिए।

टिमले आफूआबद्ध कम्पनी एप्पलका संस्थापक स्टिभलाई बारम्बार सम्झिन्छन्। चाहे जन्मदिनमा होस्, चाहे पुण्यतिथिमा वा भनौं एप्पलका कुनै नयाँ उत्पादन सार्वजनिक गर्ने बेला।

तीन वर्षअघि सेप्टेम्बर १२ मा यस्तै कार्यक्रममा टिमले आफूभन्दा पहिले स्टिभको आवाज मञ्चमा गुञ्जिन दिएका थिए।

'मान्छे धेरै खालका हुन्छन्। मान्छेको भावना अभिव्यक्त गर्ने तरिका पनि धेरै खालका हुन्छन्। भावना अभिव्यक्ति भनेको सबैको आ–आफ्नो विश्वासमा भर पर्ने कुरा हो। मेरो विश्वास अलग छ। म समाजलाई केही दिएर आफ्नो भावना अभिव्यक्त गर्न चाहन्छु। मलाई यही प्रिय लाग्छ, मेरो मनको एकदम नजिक।'

अमेरिकाको क्यूपरटिनोस्थित नवनिर्मित 'स्टिभ जब्स थिएटर' को अँध्यारो हलमा स्टिभको यो आवाज गुञ्जिँदा खचाखच दर्शकले एक साथ लामो सास फेरेका थिए।

झुस्स सेतो दारी पालेका, गोलो चस्मा लगाएका 'श्याम–श्वेत' स्टिभ आफ्नो परिचित कालो टिसर्टमा दुवै हातका दस औंला जोडेर अगाडिको ठूलो डिजिटल स्क्रिनमा मुसुक्क मुस्काउँदै थिए। र, भन्दै थिए, 'जुन काम हामी पूरा प्रेम र लगनसाथ गर्छौं, त्यसमा हाम्रो आत्मा सँगसँगै प्रवाहित भइरहेको हुन्छ। र, यही आत्माको प्रवाह नै हामीले आफू हुनुको कृतज्ञता जाहेर गर्ने सबभन्दा सशक्त माध्यम हो।'

स्टिभको शान्त भंगिमातर्फ नजर टिकाएर बसेका दर्शकलाई उनका यी अभिव्यक्तिले मानौं ध्यानमा लीन गराउँदै थियो।

प्रकाशित मिति: : 2020-10-06 08:20:48

प्रतिकृया दिनुहोस्