गुण्डा नाइके ‘बले’सँग एक अर्बको अवैध सम्पत्ति

उनी र श्रीमतीविरूद्ध २० करोड बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग क्यासिनो ‘किङ’ भनेर चिनिने दरबारमार्ग क्षेत्रका ‘गुन्डा नाइके’ बलराम सापकोटा ‘बले’विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एक वर्ष लामो अनुसन्धानपछि सोमबार बले र उनकी श्रीमती सिर्जना कक्षपतिविरूद्ध विभागले मुद्दा लगेको महानिर्देशक रुपनारायण भट्टराईले सेतोपाटीलाई बताए।

उनका अनुसार बलेलाई १७ करोड ४७ लाख र कक्षपतिलाई दुई करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो।

भट्टराईका अनुसार उनीहरूले गैरकानुनी रुपमा जोडेको सम्पत्ति मुख्यगरी होटल र घरजग्गामा लगानी गरेका छन्। यसरी जोडिएको सम्पत्तिको मूल्य करिब एक अर्ब रहेको भट्टराईले बताए। जोडेको उक्त सम्पत्ति जफत गर्न माग गरिएको छ। 

भट्टराईका अनुसार बलेले मानव तस्करी, हातहतियार प्रयोग दुरुपयोग र क्यासिनोमा मिटर ब्याज लगानीबाट यतिको सम्पत्ति आर्जन गर्न सफल भएको खुलेको छ। एक वर्षअघि बले महाराजगञ्जको जुवा अखडाबाट समातिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति छानविन गर्न थालेको थियो।

भट्टराईका अनुसार बले र उनकी श्रीमतीका नाममा झापामा १३ बिगाहा जग्गा छ। त्यही जग्गामा उनको लगानीमा पाँचतारे होटल खुलेको छ। मेची क्राउन प्लाजा नामक उक्त होटलमा अनुमतिबिनै क्यासिनोसमेत सञ्चालन गरिएको बिभागले बताएको छ। भारतीय ग्राहकका लक्षित गरी त्यहाँ क्यासिनो सञ्चालनमा ल्याइएको हो।

क्त क्यासिनो बन्द गर्ने प्रयोजनका लागि सम्बन्धित निकायलाई जानकारी गराइसकेको भट्टराईले बताए।

‘अवैध रुपमा क्यासिनो सञ्चालन गरेको पाइएपछि हामीले नियामक निकायलाई बन्द गराउन रिपोर्टिङ गरिसकेका छौं,’ भट्टराईले भने।

यस्तै, सापकोटाको नाममा काठमाडौंमा आठ आना जग्गा र त्यसमा बनेको घर देखिएको छ। उनको काभ्रेमा ६ रोपनी जग्गा देखिएको छ।

उनीसँग अत्याधुनिक सवारीसाधनहरू देखिएका छन्। ती सवारीसाधन जफत प्रयोजनका लागि मुद्दा दायर गरिएको छ।

बले भने फरार रहेको भट्टराईले बताए।

को हुन् बले?

बले काभ्रे रोशी गाउँपालिकाका हुन्। अन्नपूर्ण होटलमा सामान्य काम गर्दा उनलाई ‘बले’ भनिन्थ्यो। त्यही होटलको क्यासिनोबाट उनी मौलाउँदै गएर ‘क्यासिनो किङ’ भनेर चिनिए।

बले दरबारमार्ग क्षेत्रको आपराधिक तथा रात्रिकालीन व्यवसाय विशेषगरी क्यासिनोको मिटर ब्याज लगानीले चर्चित छन्। आपराधिक दुनियाँमा उनलाई ‘बले’ उपनाम बढी चिनिन्छन्।

प्रहरीको सूचीमा उनी आपराधिक गतिविधिका गुन्डा नाइके भनिन्थे।

प्रकाशित मिति: : 2020-10-06 00:07:38

प्रतिकृया दिनुहोस्