निर्मला प्रकरणमा स्वतः निलम्बनमा परेका प्रहरी काममा फर्किने बाटो खुल्यो, नियमावली भयो संशोधन

पहिलोपोष्ट

काठमाडौं

काठमाडौँः निर्मला पन्त प्रकरणमा प्रमाण नस्ट र यातना  आरोप लागेर अदालतबाट सफाइ पाएका प्रहरी अधिकारीलाई निमल्बन फुकुवाको बाटो खुलेको छ। अदालतले आरोपबाट सफाइ दिए पनि प्रहरी नियमावली संशोधन नहुँदा निलम्बन फुकुवा भएको थिएन। मन्त्रिपरिषद्ले नियमावली संशोधनको निर्णय गरेसँगै फुकुवाको कानुनी आधार बनेको हो।  

असोज ८ गतेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन गर्ने निर्णय गरेको हो। संशोधित नियमावली राजपत्रमा आज प्रकाशित गरिएको छ।

यसअघि नियमावलीमा 'कुनै फौजदारी अभियोगमा वा ऐन अन्तर्गतको कसुरमा गिरफ्तार भइ थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारीले साधरण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बन रहनेछ' भन्ने व्यवस्था थियो।

जिल्ला अदालतले अभियोगबाट सफाइ दिए पनि अन्तिम किनारा भन्ने शब्दावलीका कारण फुकुवा प्रक्रिया अघि बढाइएको थिएन।

साउन १५ गते एसपी दिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट खटिएका डिएसपी अंगुर जिसी, डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथिको पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दामा जिल्ला अदालत कंचनपुरले फैसला सुनाएको थियो।

अदालतले सबैलाई सफाइ दिए पनि निलम्बन फुकुवा नहुँदा प्रहरी अधिकारीहरु कामममा फर्किने बाटो खुलेको थिएन। उक्त व्यवस्था गलत भएको आवाज उठेपछि नियमावली संशोधन प्रक्रिया अघि बढाइएको थियो। नियमावली संशोधन गरेर अहिले अन्तिम भन्ने शब्द झिकिएको छ। योसँगै सफाइ पाएका ६ जना प्रहरीहरुको निलम्बन फुकुवाको बाटो खुलेको हो।

अब केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) बाट अनुसन्धानमा गएका डिएसपी अंगुर जिसी, सई रामसिंह धामी र जवान चाँदनी साउदको निलम्बन फुकुवा भएपछि काममा फर्किने छन्। प्रहरी प्रधान कार्यालय नक्सालले अधिकृत तहका प्रहरीको लागि गृह मन्त्रालयमा पत्रचार गरेर निलम्बन फुकुवा गर्नेछ। तत्लो तहका कर्मचारीको भने हेडक्वार्टरले नै निलम्बन फुकुवा गरेर काममा पठाउन सक्ने छ।

प्रकाशित मिति: : 2020-10-06 00:02:08

प्रतिकृया दिनुहोस्