दशैंको मुखमै छैनन् यात्रु, घाटाको व्यापार गर्नु परेको यातायात व्यवसायीको गुनासो

सरिशा अछामी

काठमाडौं, असोज १९ : घटस्थापना आउन ११ दिनमात्रै बाँकी छ। तर, अहिलेसम्म लामो दुरीका सवारी साधनको अग्रिम बुकिङ खुलेको छैन। चाडपर्व नजिकएको समयमा कोरोना भाइरसको संक्रमणसमेत दिन प्रतिदिन बढ्दै गएको छ। जसकोकारण सार्वजनिक यातायातमा यात्रु नै नभएको व्यवसायीहरु बताउँछन्।   

अघिल्ला वर्षहरुमा दशैंको बेला अग्रिम बुकिङ खुल्थ्यो। यात्रुहरुको चलहपल हुन्थ्यो। तर, अहिले कोरोना संक्रमणका कारण यात्रुको संख्या न्यून रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघको भनाइ छ। महांसघको अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य भन्छन्, ‘अहिले सार्वजनिक यातायात घाटामा चलिरहेका छन्। इन्जिन बचाउनको लागि घाटामा चलिइरहेका छौं,’ उनले भने। 

यात्रु क्षमताभन्दा ५० प्रतिशत कम यात्रु राखेर सवारी चलाउँदा इन्धन खर्चसमेत नउठ्ने उनीहरुको भनाइ छ। ‘चालक र सहचालकलाई तलब, भत्ता दिनुपर्छ। ५० प्रतिशतमात्र यात्रु राखेर सवारी चलाउँदा इन्धन खर्च नै उठ्दैन। तर, यात्रुलाई सेवा दिनको लागि सार्वजनिक यातायात सञ्चालन गरिरहेका छौं,’उनी भन्छन्, ‘यातायात क्षेत्रमा संलग्न कोही पनि भोकले नमरुन भन्ने हाम्रो ध्येय हो।’

लामो समयसम्म सवारी साधन थन्काएर राख्दा इन्जिन बिग्रने तथा खिया लाग्ने गर्छ। चालक र सहचालकहरुको दैनिकीसमेत कठिन बन्दै गएको छ। गाडीको इन्जिन बचाउन र मजदुरको समस्यालाई ध्यानमा राखेर यातायात सञ्चालन गरिएको कर्मचार्यको भनाइ छ। 

प्रकाशित मिति: : 2020-10-05 14:57:18

प्रतिकृया दिनुहोस्