छोरालाई गत भदौ ३० गते कोरोना संक्रमण देखिएपछि हामी पनि कन्ट्याक्ट ट्रेसिङमा पर्यौं। परिवारमा रहेका ७ जनामध्ये दुई दिनपछि आएको रिपोर्टमा म, दिदी र १०१ वर्षीया आमा (गणेशमाया प्रजापति)लाई संक्रमण देखियो।
कोरोनाले वृद्ध उमेरका मानिसलाई बढी सताउँने कुरा आइरहेको छ। त्यसैले सय वर्ष कटेकी आमालाई संक्रमण पुष्टि हुँदा परिवारमा एकखाले तनाव भयो नै। त्यसमाथि आमा, म र छोरालाई रुघा देखिएको थियो। दिदीमा भने लक्षण थिएन।
तर पनि धन्धा मान्नुपर्दैन, केही हुँदैन भनेर जसोतसो परिवारलाई सम्झाई बुझाई गरियो। आमालाई सान्त्वना दिने हेतुले सामान्य भाइरस हो। एक–दुई दिनमै निको भइहाल्छ पनि भनेर सम्झाएँ।
दिदी र आमालाई एक ठाउँमा तथा छोरा र म अर्को ठाउँमा बस्ने निर्णय गर्यौं।
आइसोलेसनका क्रममा मेरी श्रीमतीले आमा र दिदीको स्याहार गरिन्। बुहारीले छोरा र मेरो ध्यान राखिन्। यसबेला हामीले अरु बेलाको भन्दा बढी पोसिलो र झोलिलो खानेकुरा खायौं।
गुर्जो राखेर तातो पानी नियमित खायौं। एकजना साथीले वाफ लिने मेसिन पठाइदिनु भएको थियो।
चारैजनाले बिहान, दिउँसो र बेलुका गरी नियमित दिनमा तीनपटक वाफ पनि लियौं।
औषधिको रुपमा हामीले दिनको तीन समय चिकित्सकको परामर्शअनुसार भिटामिन सीको औषधि खायौं। त्यसबाहेक रुघाको हामीले घरेलु औषधि नै ग¥यांै।
तातोपानीसँग बेसार, अदुवा, अलैंची, सुकमेल जस्ता कुराको प्रयोग गर्यौं। त्यसले रुघालाई कम गर्दै लग्यो।
हामी स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा थियौं। तर जटिल अवस्था नआएकाले उहाँहरुको त्यति खाँचो परेन। तर उहाँहरुको सल्लाह सुझावलाई पालना गर्दै दिन कटायौं।
१४ दिन पुगेपछि गत शुक्रबार हाम्रो परीक्षण भयो। त्यसक्रममा आमा, छोरा र मेरो रिपोर्ट नेगेटिभ आयो। दिदीमा भने पोजिटिभ देखिएपछि कुनै लक्षण नभएकाले १४ दिन कटेकाले उहाँलाई कुनै असर नहुने र अरुलाई पनि नसार्ने चिकित्सकले बताउँनुभएको छ।
आमालाई कुनै प्रकारको दीर्घरोग थिएन। त्यही भएर पनि उहाँलाई कुनै जटिलता नदेखिएको हुनसक्छ। त्यसमाथि परिवारका सदस्यको २४सै घण्टाको खटाइले हामीलाई तङ्ग्रिन मद्दत पुगेको मैले अनुभव गरेको छु।