नारायणप्रसाद ढकाल
कुनै समयमा उपत्यका बाहिरका मानिसलाई राजधानी उपत्यका काठमाडौँ आइपुग्दा आनन्दको अनुभूति हुने गर्दथ्यो। सुन्दर र शान्त वातावरण, वरिपरि हरियाली, शुद्ध पिउने पानी र प्रमुख तीर्थस्थलले सिंगारिएको कान्तिपुरी नगरी आनन्द र गर्व गर्नसक्ने स्थान थियो। अध्ययन-अध्यापनका लागि पनि विश्वविद्यालयहरूमा योग्य र असल आचरण भएका शिक्षक र गुरुहरू, जनताको मनोभावना बुझ्ने सामाजिक-प्रशासनिक नेतृत्व, अपेक्षाकृत न्याय व्यवस्था र राजनीतिमा पनि केही नैतिकता भएका नेताहरूको आभास हुन्थ्यो। यसैले गर्दा पनि होला : अध्ययनको लागि आएका हजारौँ युवाहरूले निःस्वार्थ भावनासाथत आफूलाई राजनीतिक परिवर्तनका लागि समर्पण गरेका! राष्ट्रका लागि आवश्यक दक्ष, योग्य र असल नागरिक निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने शिक्षक र प्राध्यापक, राष्ट्र सेवामा समर्पित असल कर्मचारीले आफ्नो शुद्ध र स्वभाविक पारिश्रमिकबाट जीवनमा एउटा घर र एउटा साधन कल्पना गर्न नसक्ने अवस्था छ। यो बिडम्बना, दुर्भाग्य र दया लाग्दो परिस्थितिमा बाँचिरहेको काठमाडौँले राष्ट्रको उन्नती र प्रगतिका लागि ठूलो योगदान देला भनेर विश्वास गर्ने आधार देखिँदैन। राज्यको नियन्त्रण र अनुगमनबाट बाहिर जस्तो बेलगाम देखिने काठमाडौँ शहर आफ्नो हैसियतभन्दा बढी महंगो हुँदै गएको छ। घरभाडादेखि लिएर यहाँको बसाइ पनि अत्यन्तै महङ्गो छ।