विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन्।
गैरआवासीय नेपाली संघका अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९ सय १६ जना कोरोनामुक्त भएका छन्।
विदेशमा शनिवार साँझसम्म ३९ हजार ५ सय २८ नेपाली कोरोना संक्रमित भएकाे गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले जनाएकाे छ।
स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाका अनुसार यो साता साउथ अफ्रिकामा रहेका १ जना नेपालीको ज्यान गएको छ। समितिका अनुसार कोरोना संक्रमणका कारण विदेशमा १८ देशका २ सय ६६ जना नेपालीको ज्यान गएको छ।
यो साता स्पेन, भारत, कतार, कुवेत, साउदी अरबमा रहेका नेपालीहरुमा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको उनले बताए।
कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये १ लाख २४ हजार ९८ जनामा कोरोना संक्रमण भएको छ। तीमध्ये ९८ हजार ६ सय ५६ कोरोना भाइरसबाट मुक्त भएका छन्।
स्वास्थ्य समितिले सार्बजनिक स्थलमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएको छ।
संयोजक सापकोटाले कोरोना संक्रमणबाट बच्ने एक मात्र उपाय स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुको अर्को विकल्प नभएको हुँदा सबैलाई माक्स प्रयोग गर्न र हात धुन आग्रह गरेका छन्।
उनले कोरोना संक्रमणको आशंका लागेमा तत्काल स्वास्थ्य सेवामा सम्पर्क गर्न अनुरोध गरेका छन्।