देशले कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था आइसक्याे, अब मन्त्रालय बढाए विरोधमा उत्रिन्छौँः पौडेल

 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले मन्त्रालय फुटाए आफूहरु घोर विरोधमा उत्रिने चेतावनी दिएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली र  कार्यकारी अध्यक्ष प्रचण्ड दुवै जना मन्त्रिमण्डलमा ठूलै हेरेफेर गर्ने पक्ष रहेकाे कुरा बाहिरिपछि नेता पौडेलले सो चेतावनी दिएका हुन्।

‘जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर बिरोधमा हामी उत्रने छौं,’ बिहीबार ट्वीटरमा लेखेका छन्।

प्रधानमन्त्री ओली अर्थ, सञ्चार र शहरी विकास गरी तीन मन्त्रालय रिक्त छन्। कम्तिमा दुई, जरुरी परे तीन मन्त्रालयसम्म थप्ने तयारी छ। उद्योग, वाणिज्य तथा आपूर्तिलाई फुटाएर दुई वटा मन्त्रालय बनाउने तयारी छ भने रेल मन्त्रालय थप्ने तयारी छन्।   

यसबारे पौडेलले लेखेका छन्, ‘कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भइसकेको  छ। जनतालाई सर्वसुलभ स्वास्थ्य सुविधा दिन नसकिरहेको अवस्थामा फेरि मन्त्रालय बढाउने काम गरियो भने त्यसको घोर विरोधमा हामी उत्रने छौं।’

उनले देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्ती केन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम भइरहेको बताए। 

‘देश विकास गर्ने सारा बजेटलाई अनावश्यक भर्तीकेन्द्र खोली बिना दरबन्दी जतासुकै मनपर्दी ढंगले मान्छे भर्ने काम कम्युनिष्टले चलाएका छन्।  कर्मचारीको पेन्सन धान्न नसक्ने अवस्था भैसकेको छ। देशलाई भारमात्र पर्नेगरी प्रधानमन्त्रीले आफ्नो सुविधाको लागि मन्त्रालयहरु फुटाएर मन्त्रालय थप्ने, मन्त्री पद बाँड्ने गैरजिम्मेवार प्रवृत्तिलाई नयाँ संविधानले अन्त गर्न खोजेको हो,’ उनले भने। 

अहिले सरकारमा प्रधानमन्त्रीसहित १९ मन्त्री र तीन राज्यमन्त्री छन्। १९ मध्ये सात साविक माओवादी छन्। सात जना मन्त्री गत मंसिरमा मात्र भएका हुन्। यसबाहेक पर्यटनमन्त्री योगेश भट्टराई ०७६ साउन १५ र कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे ०७६ फागुन ५ गते मन्त्री भएकी हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित आठ जना मन्त्रीले साढे दुई वर्ष पूरा गरिसकेका छन्, तीमध्ये पाँच जना साविक माओवादी छन्। 

नेकपा स्रोतका अनुसार, प्रधानमन्त्री ओली अर्थ, गृह र परराष्ट्र मन्त्रालयमा आफूले इच्छाएका व्यक्तिलाई मात्र मन्त्री बनाउन चाहन्छन्। त्यसैले उनी गृह र परराष्ट्रमन्त्रीमा बादल र ज्ञवालीलाई नै निरन्तरता दिन चाहन्छन्। अर्थमन्त्रीमा उपाध्यक्ष वामदेव गौतमसमेतको समर्थनमा नेकपा महासचिव विष्णु पौडेललाई ल्याउन चाहन्छन्। 

त्यसबाहेक साविक एमालेबाट सुरुदेखि नै मन्त्री रहेका भूमिसुधारमन्त्री पद्माकुमारी अर्याल र युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) फेर्ने पक्षमा छन्। त्यसबाहेक पहिले कानूनमन्त्री र त्यसपछि स्वास्थ्यमन्त्रीमा सारिएका भानुभक्त ढकाललाई पनि हटाउन तयार छन्। 

प्रकाशित मिति: : 2020-10-01 14:10:14

प्रतिकृया दिनुहोस्