धितोपत्र बजारमा जोखिममा आधारित सुपरिवेक्षण सुरु : कारोबारमा कस्तो असर गर्छ ?

रातोपाटी

काठमाडौं

 

धितोपत्र बजारमा जोखिममा आधारित सुपरिवेक्षण सुरु भएको छ । धितोपत्र बजारको नियामकीय निकायको रुपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बिहीबार (अक्टोबर १) देखि लागु हुनेगरी यस्तो म्यानुअल लागु गरेको हो । यो म्यानुअलको उद्देश्य अवैध क्रियाकलापबाट आर्जित सम्पत्तिलाई धितोपत्र बजारमार्फत् शुद्धिकरण गर्ने प्रयासलाई कम गर्नु हो ।

धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण ऐन २०६४, सम्पत्ति शुद्धिकरण निवारण नियमावली २०७३ र बोर्ड आफैले यसअघि जारी गरेको सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी निर्देशन २०७६ का व्यवस्थाहरु लागु गराउन यस्तो म्यानुअल जारी गरी लागु गरेको जनाएको छ । यो म्यानुअल फाइनान्सियल एक्सन टक्स फोर्स (एफएटीएफ) तथा यसअन्तर्गतको एशिया प्रशान्त समूह (एपीजी) को मापदण्डमा आधारित रही धितोपत्र व्यवसायीको जोखिममा आधारित रहेको समेत बोर्डले प्रष्ट पारेको छ ।

यो म्यानुअल अन्तर्गत कुनैपनि धितोपत्र व्यवसायीको संरचनागत र अन्तर्निहित जोखिम र त्यसको व्यवस्थापनलाई १ देखि ५ सम्मको रेटिङ दिने, उनीहरुको जोखिमको आधारमा स्थलगत वा गैरस्थलगत सुपरिवेक्षण गर्ने, धितोपत्र व्यवसायीले गर्ने परिमाणात्मक र गुणात्मक कारोबार विवरणको गैरस्थलगत सुपरिवेक्षण गर्ने र त्यस्तो सुपरिवेक्षणका क्रममा जोखिम देखिएमा स्थलगत सुपरिवेक्षण गर्ने विषय म्यानुअलमा समावेश गरिएका छन् ।

प्रकाशित मिति: : 2020-10-01 11:42:31

प्रतिकृया दिनुहोस्