नबिल ब्याङ्कले नेपालमा पहिलोपटक सबै सेवालाई ‘डिजिटल’ बनाउने गरी डीजी ब्याङ्कको संरचना तयार गरेको छ। ब्याङ्कले प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखेको जनाएको छ। तीन वर्षभित्रै सबै सेवालाई डिजिटल गर्ने रणनीति बनाएको नबिल डीजी ब्याङ्कका प्रमुख विनयकुमार रेग्मीसँग राजु बास्कोटाले गरेको कुराकानीः
नबिल आफैंमा स्थापित ब्राण्ड हुँदाहुँदै डीजी ब्याङ्कको संरचना किन आवश्यक भयो?
नबिल डीजी ब्याङ्क भनेको अलग्गै सेवा होइन्। संस्थाभित्रैकै आन्तरिक संरचना हो। जति पनि ‘डिजिटाइजेशन’का काम फरकफरक क्षेत्रमा भइरहेको थियो, त्यसैलाई एउटै छाताभित्र ल्याएर सेवा दिइएको हो। ब्याङ्कभित्र धेरैवटा ब्याङ्किङ कार्यहरू हुन्छन्। जसलाई जुन सेवा चाहिएको छ त्यसलाई सम्बन्धित विभाग वा इकाइबाट दिइने अहिलेको संरचनालाई डिजिटल गर्न संरचना थप गरिएको हो। ब्याङ्कमा हुने सबै काम एउटै छाताबाट होस् भन्ने हाम्रो उद्देश्य छ। ग्राहकले इच्छाएको सेवा/सुविधा चाहेकै स्थान र समयमा छिटो तथा छरितो रूपमा दिइएको मात्रै हो। यो सुविधा सबै सेवालाई डिजिटल बनाउने गरी स्थापना भएको संरचना अर्थात ब्याङ्कभित्रको ब्याङ्क हो।
डीजी ब्याङ्कको संरचनाले ग्राहकलाई के फरक पर्छ ?
ब्याङ्कका जति पनि ग्राहक छन्, सबैले पूर्ण व्याङ्किङ सुविधा आफैँ अर्थात ‘सेल्फ सर्भिस’ लिन सक्छन्। ग्राहकले ब्याङ्कको सेवा चाहेको स्थान, समय र डिभाइसबाट पाउन सकुन् भन्ने उद्देश्यले शुरु गरेको सेवाका लागि यो संरचना बनाइएको हो। ग्राहकले पाउने यस्तो सेवा विना झन्झट जुनसुकै समय र स्थानमा बसेर लिन सक्ने गरी विकास गरिएको प्रविधि नै डिजिटल ब्याङ्क हो। ग्राहकले माग गरेका सेवालाई तत्कालै ‘प्रोसेसिङ’ गरेर सम्बोधन गर्नुपर्ने हुन्छ। कुनै ग्राहकले ऋण माग्यो भने उसले गरेको आग्रहलाई स्वीकार गरेर अटोमेसिनमार्फत तुरुन्तै सम्बोधन हुन्छ। यो काम फन्ड ट्रान्सफर गरिएजस्तै तुरुन्तै हुन्छ। डिजिटल सेवा लिने भनेपछि कार्यालय समय कुर्नु पर्दैन। समय र स्थान कहाँ छ भन्ने पनि मतलब हुँदैन।