पद्मश्री सम्मान विवादकी एक पात्र शारदा भुषालको कथा, भन्छिन् : यो साथ र समर्थन त्यो बेला पाएको भए?

पहिलोपोष्ट

काठमाडौँ

स्वेच्छा राउत

मोबाइलमा धमाधम ‘नोटिफिकेसन’ आइरहेको थियो। उनलाई हेर्ने फुर्सद थिएन। १५ महिनादेखि साउदी अरबमा फसेका १० नेपालीको उद्धारको प्रयास अन्तिम चरणमा थियो। साउदीमा रहेको कम्पनीसँग नेपाली कामदारको पसिनाको मूल्य माग्नमा व्यस्त थिइन् उनी। कहिले पीडित नेपालीलाई विदेश पठाउने म्यानपावर सञ्चालकलाई प्रश्न गर्दै थिइन् त कहिले पटकपटक फोन गर्ने पीडितलाई आश्वासन दिँदै थिइन्।

असोज ११ गते साँझ ती नेपालीहरू देश फर्कने टुंगो लाग्यो। उनले राहतको सास फेरिन्। र, फेसबुक खोलिन्। टाइमलाइन भरी छरपस्ट खबरले उनको आँखा बिझायो। समाचार पत्याउनै मुस्किल पर्‍यो उनलाई। शीर्षकमै लेखिएको थियो – यस वर्षको पद्म श्री साधना सम्मान मोदनाथ प्रश्रितलाई।

कसैले पाउन लागेको सम्मानको खबरले रन्थनिनु स्वभाविक नसुनिन सक्छ। तर, जसका कारण आफूले जीवर भर परिवारकै अपमान सहनु पर्‍यो, ‘बहुलाही’को पगरी भिर्नु पर्‍यो, उसको उन्नती खुशीको बहाना बन्न सकेन। उनको खाटा बसेकको घाउ उप्कियो। त्यो कालो विगतलाई फेरि एक पटक फर्केर हेर्नुपर्‍यो शारदा भुषालले।

प्रकाशित मिति: : 2020-09-30 15:41:13

प्रतिकृया दिनुहोस्