४५ वर्ष बित्यो, बनेन पोखरा बसपार्क : अतिक्रमण बढ्दै जाँदा २०५ बाट ४० रोपनीमा खुम्चियो क्षेत्रफल

पर्यटकीय सहर पोखरामा बसपार्क निर्माण प्रक्रिया सुरु भएको १८ फागुन ०३२ देखि नै हो । त्यतिवेला नेपाल राजपत्रमै सूचना प्रकाशित गरेर बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो । तर, ४५ वर्षपछि पनि त्यो जग्गामा पूर्वाधार निर्माण भएको छैन । उल्टै बसपार्कको क्षेत्रफल निरन्तर खुम्चिँदो छ । १४ माघ ०७१ मा सार्वजनिक भएको अध्ययनअनुसार बसपार्कको जग्गामा चार सय ५४ परिवार अव्यवस्थित बसोबासी रहेको पुष्टि भएको थियो, जुन अहिले बढेर करिब पाँच सय ५० पुगेका छन् ।

‘पर्यटकीय सहरको बसपार्क साढे चार दशकदेखि चुनावी नारा मात्र बन्यो,’ पोखरा–९ का वडाध्यक्ष रामराज लामिछाने भन्छन् । आफू पनि वडाध्यक्ष उम्मेदवार बन्दा बसपार्क निर्माणको एजेन्डा उठाएको र प्रदेशदेखि संघीय सांसदका सबै उम्मेदवारले त्यसैलाई चुनावी नारा बनाएको उनी स्मरण गर्छन् । यो बसपार्क कास्कीको क्षेत्र नम्बर २ मा पर्छ ।

हाल प्रदेश–१ प्रमुख सोमनाथ अधिकारी प्यासी सोही क्षेत्रबाट पञ्चायतकालमा जनपक्षीय उम्मेदवार बनेर जितेका थिए । कांग्रेस नेता महादेव गुरुङ, तत्कालीन एमाले नेता तुलबहादुर गुरुङ, स्वर्गीय रवीन्द्र अधिकारीदेखि हाल संघीय सांसद विद्या भट्टराईको पनि निर्वाचन क्षेत्र यही हो । अहिले गण्डकी प्रदेश संसद्मा यही क्षेत्रबाट कांग्रेसका बिन्दुकुमार थापा सांसद छन् । उनीहरूमध्ये कतिपय मन्त्री र राज्यमन्त्री पनि बने ।

प्रकाशित मिति: : 2020-09-29 18:01:57

प्रतिकृया दिनुहोस्