'बालिका बलात्कार गर्नेलाई संविधान संशोधन गरेर मृत्युदण्ड दिऔं'

थाहा खबर

काठमाडाैं

काठमाडाैं : संघीय संसदमा प्रतिनिधित्व गर्ने महिला सांसदहरुले संविधान संशोधन गरेर १६ वर्ष मुनिका बालिकालाई बलात्कार गर्नेलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्ने बताएका छन्।  विभिन्न राजनीतिक दलबाट नृतृत्व गर्ने महिला सांसदहरुको भेलामा सहभागीहरुले संविधान संशोधन गरेर कानुन बनाउने र अन्तर्राष्ट्रिय सन्धिसमेत संशोधन गरी मृत्युदण्डको सजायको व्यवस्था गर्नुपर्ने बताएका हुन्। नेपाली कांग्रेस प्रतिनिधिसभा सचेतक सचेतक पुष्पा भुसालले १६ वर्षभन्दा मुनिकालाई बलात्कार गरेर हत्या गर्नेलाई मृत्युदण्डको सजाय दिने व्यवस्था गरी बढ्नुपर्ने बताइन्। उनले भनिन्, 'हामीले संविधान संशोधन गर्नुपर्छ। अन्तर्राष्ट्रिय सन्धि सम्झौता त परिमार्जन गर्न सकिन्छ। संसदमा भन्दा पनि भएन। मृत्युदण्डका लागि संविधान कानुन संशोधनको र अन्तर्राष्ट्रिय सन्धिहरुको परिमार्जन गरेर त्यसमा पुनरावलोकन गर्ने आवश्यकता देखिएको छ। त्यसले दबाब सिर्जना गर्छ र मनोवैज्ञानिक असर पार्नका लागि सन्देश जान्छ।’ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रतिनिधिसभा सचेतक शान्ता चौधरीले विश्वका विभिन्न देशमा त्यस्ता घटनाहरुमा मृत्युदण्ड दिने गरेका समाचार आइरहेका बेला नेपालको सन्दर्भमा के गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने बताइन्। ‘आपराधिक मानसिकता बोकेकाहरुलाई झड्का लाग्नेगरी मृत्युदण्डको कानुन हुन्छ वा लिंग छेदन गर्ने हुन्छ के गर्न सकिन्छ गरौं। मृत्युदण्ड कत्तिको सहज छ? यो विषयमा हामीले भन्दा पनि कानुनको विषयमा तपाईं जानकार हुनुहुन्छ। उनीहरूले मान्छे मार्छन् भने उनीहरूका लागि राम्रो कानुन बनाइराख्नु पर्दैन। संसद भएको भए के के गर्ने हो त्यहीँ गरिन्थ्यो। तर नभएको बेलामा संसदीय समितिमा छलफल गरौं र हामीहरू छलफल गरौं,’ चाैधरीले भनिन्।
 

प्रकाशित मिति: : 2020-09-28 22:15:38

प्रतिकृया दिनुहोस्