कुलमान बिदा भएपछि ‘मुसाको कब्जा’मा विद्युत् प्राधिकरण !

लोकान्तर

काठमाडाैं

आइतवार काठमाडौंका एक दर्जनभन्दा बढी स्थानमा एकैपटक बत्ती गयो ।

नारायणहिटी संग्रहालय, बागबजार, लाजिम्पाट, महाराजगञ्ज, पानीपोखरी, बबरमहल ठमेल लगायतका स्थानमा बिनाजानकारी बत्ती गएको थियो । 

यसरी बत्ती गएसँगै आम उपभोक्ताले प्रश्न गरे, पूर्व सूचनाबिनाकिन बत्ती काटेको ? 

उपत्यकाकै व्यस्त स्थानमा यसरी पूर्वसूचना बिनानै बिजुली गएपछि हाहाकार मच्चियो । 

केही समयपछि विद्युत् प्राधिकरणले स्पष्टीकरण दियो, ‘लैनचौर  सब–स्टेसनको प्यानलबोर्डमा मुसा पसेपछि विद्युत् काटिएको हो ।’

नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकबाट भदौ २९ गते कुलमान घिसिङ बिदा भए, त्यसकै केही दिनपछि विभिन्न कारण देखाउँदै विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दै आइरहेको छ । 

कहिले ललितपुर त कहिले बानेश्वर, कहिले सिंहदरबार त कहिले लैनचौर वा सामाखुशी, विद्युत् प्राधिकरणले अहिले अधिकांश स्थानमा बत्ती काट्ने गरेको छ ।

कतिपय अवस्थामा पूर्वसूचना दिइएको हुन्छ भने अधिकांश अवस्थामा सूचनाबिनानै । 

कुलमान नियुक्ति भएको केही समयदेखि अर्थात् (सो वर्षको कात्तिकदेखि) नै लोडसेडिङ भुलेका आम उपभोक्ता उनको बहिर्गमनसँगै पुनः लोडशेडिङ हुने चिन्ता र त्रासमा छन् । 

पछिल्लो समय घोषित तथा अघोषित रूपमा बत्ती जानु पनि त्यसको मूल कारण भएको आश‌ंका उपभोक्तामा पाइन्छ ।

प्रकाशित मिति: : 2020-09-28 21:14:51

प्रतिकृया दिनुहोस्