मन्त्रालयमा मन्त्रीका स्वकीय सचिवको रजाइँ, सचिवलाई नै कार्यकक्षमा प्रवेश निषेध !

लोकान्तर

जनकपुरधाम

अजय अनुरागी

सरुवा भएर २ नम्बर प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आएकी सचिव सम्झना काफ्लेले कार्यालयमा हाजिरी गर्न पाएकी छैनन् । 

असोज ७ गते बुधवार नै मन्त्रालयमा पुगेकी काफ्लेले हालसम्म न त कार्यकक्षमा प्रवेश गर्न पाएकी छन्, न त हाजिरी पुस्तिकामा हाजिरी गर्न पाएकी छन् ।

‘असोज ७ गते मन्त्रालयमा हाजिर हुन गएको बेला मैले न त आफ्नो च्याम्बर पाएँ, न त हाजिरी रजिस्टर नै पाएँ,’ काफ्लेले लोकान्तरसँग भनिन्, ‘मन्त्रीज्यूका स्वकीय सचिवले मेरो कार्यकक्षको ढोकामा ताला बन्द गरेका थिए र हाजिरी पुस्तिका पनि उनले नै आफ्नो कब्जामा राखेका थिए ।’ स्वागत तथा परिचयको क्रममा सबै कर्मचारीले अनुशासनको दायरामा नै बसे पनि मन्त्रीका स्वकीय सचिवले बाहिरका केही व्यक्ति बोलाएर कर्मचारीविरुद्ध हल्लाखल्ला गराउने र दुर्व्यवहार गराउने काम गरेको उनले बताइन् ।

कार्यकक्षमा प्रवेश गर्न नपाए पनि आफूले पत्र बनाएर मन्त्रालयमा हाजिर भइसकेको पत्र संघीय सरकारको सामान्य प्रशासन मन्त्रालय, आफू रवाना भएर आएको निकाय पशु सेवा विभाग, प्रदेशको मुख्यमन्त्री कार्यालय, निजामती किताबखाना, कर्मचारी सञ्चय कोष लगायतका निकायमा जानकारी गराइसकेको उनले बताइन् । ‘मन्त्रालयमा अवरोध गरिएको भए पनि औपचारिक रूपमा असोज ७ गते नै म हाजिर भइसकेको छु,’ सचिव काफ्लेले भनिन्, ‘मधेश भवनस्थित निवास समेत पाएको र मन्त्रालयको गाडी र सवारी चालक समेत पाएर मन्त्रालयका विभिन्न निकायको अनुगमन समेत गर्दैछु ।’

प्रकाशित मिति: : 2020-09-28 13:44:48

प्रतिकृया दिनुहोस्