सिपाहीको तलब काटेर जम्मा भएको प्रहरी कोषमा भ्रष्टाचार : प्रहरी पेट्रोल पम्पमा पाँच करोड हिनामिना

शान्ति मिसनमा जाने कर्मचारीको कमाइबाट कम्तीमा १० प्रतिशत कोषमा संकलन, त्यस्तै, प्रत्येक प्रहरीको तलबबाट हरेक महिना पाँच सय रुपैयाँ कट्टी गरी कोषमा जम्मा हुने गरेको छ
प्रहरी कल्याणकारी कोषको मुख्य आम्दानी मिसनबाट प्राप्त हुने स्रोत हो । तर, प्रहरीको हाइटी मिसन बन्द भइसकेको छ । सुडानको डार्फर मिसन पनि बन्द हुने क्रममा छ । पर्यवेक्षक मिसनमा जाने अवसर पनि घट्दै गएकाले कोषमा आउने पैसा घटेको छ । तर, भ्रष्टाचार घटेको छैन ।

......

प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन । कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ । 

पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो । ‘सुरुमा असइलाई मात्र दोषी देखाउने गरी विषय शान्त पार्न खोजिएको थियो, तर भ्रष्टाचार ठूला देखिएपछि फराकिलो छानबिन सुरु भएको छ,’ प्रहरीको स्रोतले भन्यो । यस विषयमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीले छुट्टाछुट्टै टोली बनाएर अनुसन्धान अघि बढाएका छन् ।

असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन् । त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ । सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक हुँदा धेरै अनियमितता भएको छानबिनमा देखिएको छ । त्यतिवेला प्रहरी कल्याण कोषमा कार्यरत धेरै प्रहरी अधिकारी छानबिनमा तानिने अख्तियार स्रोत बताउँछ । 

नेपाल प्रहरीले प्रारम्भिक छानबिन गरी असइ कार्कीलाई गत ३० साउनमा अख्तियारलाई बुझाएको थियो । उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि आयोगमा बुझाइएको थियो । सोही अनियमिततामाथि छानबिन गर्ने क्रममा त्यसअघि पनि पेट्रोल पम्पमा हिनाहिना भएको तथ्य खुलेको छ । स्रोतका अनुसार हालसम्मको छानबिनमा करिब पाँच करोड हिनामिना भएको देखिएको छ । प्रहरीले पनि एसपी सुदर्शन कोइरालाको संयोजकत्वमा एक समिति गठन गरी सबै पुराना विवरणको अध्ययन थालेको छ । 

प्रकाशित मिति: : 2020-09-28 07:51:19

प्रतिकृया दिनुहोस्