रिमालका कविताहरू अनुष्टुप् छन्दमा-
च्याँट्ठिएको छ ता मान्छे प्रतिभावान् छ तापनि
त्यसबाट परै बस्नू, गुरु मिल्छन् जता पनि।
प्रशंसा गर मान्छेको स्याबासी झट्ट पाउँछौ
भलो छ यसमा तिम्रो जसको गुण गाउँछौ।
फुरुक्क नहुने को छ स्तुति पाएर लौ भन
बुरुक्क उफ्रने देखेँ प्रशंसामा सयौँ जन।
‘खोटो छ जसको स्वर्ण,उसकै दिल ढुक्ढुक’
त्यसैलाई छिटो छुन्छ पङ्क्तिले,छ भने चुक।
सोझो र सजिलो बन्नू तर त्यो चाहिए जति
धेरै सोझो भए हुन्छ विपरीत परी खति।
‘जति मीटरको खास्टो खुट्टा पसार त्यत्ति नै’
नत्र खुट्टा र मुन्टाको रक्षा हुँदैन कत्ति नै।
आँखा चिम्लेर हानेको ढुङ्गो लाग्यो कता कता?
लाग्नपर्नेहरूलाई लाग्ने गर्छ त्यता त्यता।