भनिन्छ- दक्षिण एसियाको स्थायी अर्थमन्त्री मनसुन हो। किनकी परम्परागत कृषि क्षेत्रले कुल ग्राहस्थ उत्पादन (जिडिपी)मा ठूलो हिस्सा ओगटेको यो क्षेत्रमा मनसुनी गतिविधिको सोझो असर अर्थतन्त्रमा परिहाल्छ।
यो क्षेत्रका देशमध्ये नेपालको अर्थतन्त्रमा ३१.७, भारतमा २९.६, अफगानिस्तानमा २३ र पाकिस्तानमा २२.४ प्रतिशत योगदान कृषिले गर्छ।
त्यही भएर झन्डै साढे तीन महिनासम्म रहने मनसुन कहिले सुरू हुन्छ र कहिले सकिन्छ? अनि कति पानी पर्छ भन्ने कुराले यी देशको अर्थतन्त्रमा ठूलो अर्थ राख्छ।
नेपालमा सिँचाइ सुविधा नभएकाले बर्खामा खेत रोप्न किसानहरू निधारमा हात लगाएर आकाशतिर बादल हेर्छन्- पानी कहिले पर्छ भनेर।
यसपालि जुन १२ मा नेपाल पसेको मनसुनले औसत वर्षा भएको थियो। समयमै वर्षा भएकाले धान खेती हुने १३ लाख ७१ हजार हेक्टरमध्ये १३ लाख ४९ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ। अहिले धान पसाउने र पाक्ने बेलामा परिरहेको झरीले भने किसानलाई फाइदाभन्दा नोक्सान बढी गर्छ।
नेपालका सन्दर्भमा मनसुनको सम्बन्ध कृषिसँग मात्रै छैन कतिपयका लागि यो समय जीवन-मरणसँग जोडिएको छ। किनकी वर्षामा पहाडमा पहिरो आउँछ, तराईमा बाढी र डुबानले जनजीवन अस्तव्यस्त हुन्छ। कतिले ज्यान गुमाउँछन्, कोही घरबार गुमाउँछन्। थातथलो छोडेर विस्थापित हुन बाध्य हुन्छन्।