कोरोना र जातीय विभेदपछि गर्भपतनको मुद्धा बलियो हुँदै अमेरिकी चुनावमा (भिडियो)

संजोग आचार्य

न्यूयाेर्क

जोसुआ होन, ३५। क्यारोलिनाको डरहम काउन्टीमा बसोबास गर्ने महिला। उनी यतिबेला निकै खुसी छिन्। किनभने उनलाई दोस्रो पल्ट सर्वोच्च अदालतले बहसका लागि बोलाउँदै छ। यसका लागि उनले ४ वर्ष कुर्नु परेको थियो।  

उनी गर्भपतन जस्तो संवेदनशील मुद्धा बोकेर अमेरिकाको सर्वोच्च अदालत पुगेकी थिइन। केही समयअघि अमेरिकी अखबारलाई दिएको अन्तर्वार्तामा उनले भनेकी थिइन, ‘म यो भन्न सक्दिन ट्रम्पलाई कति रुचाउँछुु भनेर तर यो पक्का हो गर्भपतनले बालबालिकाको ज्यान गइरहेको छ।’

अमेरिकामा ३ नोभेम्बरमा राष्ट्रपतिको चुनाव हुँदैछ। यी चुनावमा राष्ट्रपतिका प्रत्यासी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका जो वाइडेन एकअर्कालाई गाली गरेर थाकिरहेका छैनन्। उनीहरूको आ–आफ्नै राजनीतिक एजेण्डा छ। तर, गर्भपतन आम अमेरिकीको चासो र सबैभन्दा पेचिलो विषय हो। यो मुद्धामा जति डेमोक्र्याट चुप देखिन्छन्, रिपब्लिकनको हालत पनि त्योभन्दा कम छैन। चुनावको माहौल चुलिँदै जाँदा अहिले आएर गर्भपतनको मुद्धा पनि उठ्न थालेको छ। 

डरहम काउन्टीभन्दा निकै टाढा सिनसिनाटीको एउटा शहरी क्षेत्रमा जुली वोम्याकको फोन बजिरहेको छ। उनलाई साथीहरूले फोन र म्यासेज गरेका गरैछन्। न्यायाधीस रुथ बेडर गिन्सवर्गको हालै भउको निधनबाट उद्देलित साथीहरूसँगै जुली पनि केही चिन्तित देखिन्छिन्। उनी न्यायाधीस रुथको निधनसँगै गर्भपतनविरूद्धको अभियान बीचैमा तुहिने त होइन भन्ने कुराले छटपटेकी छिन्। न्यायाधीस रुथको निधनलाई लिएर अमेरिकामा प्रदर्शन भइरहेको छ। उनी कानुनी रूपमा गर्भपतन गर्न पाउनुपर्छ भन्ने मान्यता राख्थिन्। 

जुलीले पनि हालै अमेरिकी मिडियालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘हामीले अझैं मुखरित भएर आफ्नो आवाज बुलन्द गर्नुपर्छ। न्यायाधीस रुथको आवाज अब हामी बन्नुपर्छ।’ 

गर्भपतनलाई कानुनी अधिकारको मान्यता दिनुपर्ने अभियानसँग जोडिएकी ५२ वर्षीय जुली ट्रम्पको कट्टर विरोधी हुन्। 

गर्भपतनको विषयमा यी दुई अमेरिकी चुनावका प्रतिनिधि पात्र मात्र हुन्। वास्तवमा देशभित्र महिलाको ठूलो हिस्सा गर्भपतनको विषयमा विभाजित छ। अमेरिकाको चुनावमा यो मुद्धा सधै उठ्दै आइरहेको थियो। तर, यसपालि विश्वभरि फैलिएको कोरोना महामारी, यसले निम्त्याएको आर्थिक संकट र जातीय विभेदका कारण अमेरिकामा प्रदर्शन भइरहँदा गर्भपतनको मुद्धा केही ओझलमा परेको थियो। तर, पुरै सुन्यमा झरेको थिएन। 

न्यायाधीस रुथको निधन तथा उनको स्थानमा अर्को न्यायाधीस नियुक्त गर्ने राष्ट्रपति ट्रम्पको उद्घोषसँगै गर्भपतनको मुद्धा फेरि एकपल्ट अमेरिकी चुनावमा बल्झिएको छ। 

चुनावअघि रुथको स्थानमा अर्को न्यायाधीस नियुक्त गर्ने ट्रम्पको घोषणाको वाइडेनले खुलेर विरोध गरिसकेका छन्। राष्ट्रपतिको चुनाव आउन ६ साताको मात्र समय बाँकी रहँदा यति ठूलो संवेदनशील विषयमा जारी विवादले अर्को रुप लिने सम्भावना पनि उत्तिकै छ। 

अमेरिकामा गर्भपतनको विषयमा अभियन्ताहरू निकै आक्रामक देखिन्छन्। तर, स्थानीयहरूको बुझाई अर्के छ। उनीहरू शान्त र हडबड गरिहाल्ने मुडमा छैनन्। धेरै जसो अमेरिकीको इच्छा छ– गर्भपतन जस्तो संवेदनशील विषयमा केही प्रतिबन्धित बुँदासहित कानुन लागु गर्नुपर्छ।

त्यसैले यति संवेदनशील मुद्धा तलमाथि भयो भने त्यसको ठूलो क्षति चुनावमा भोग्नुपर्ने दुबै पार्टीका उम्मेदवारलाई राम्रोसँग थाहा छ। डेमोक्र्याट पार्टीका सदस्यहरू गर्भपतन जस्तो संवेदनशील मुद्धालाई कसरी अगाडि बढाउँदा वाइडेनलाई चुनावमा सहयोग हुन्छ भनेर रणनीति बनाउन सक्रिय छन्। तर उनीहरू पनि कुनै निचोडमा पुगेर यो मुद्धामा कुदिहाल्ने पक्षमा छैनन्। 

शुक्रबार मात्र न्यायाधीस रुथको निधन भएको थियो। उनको निधनलाई लिएर राष्ट्रपतिका दुवै उम्मेदवारले औपचारिक टिप्पणी त जनाए तर जुन मुद्धामा उनी सबैभन्दा बढी मुखरित थिइन, त्यो मुद्धामा दुवैले मौन धारण गरें। 

वाइडेनको चुनावी अभियानका सदस्यहरू निकै संवेदनशील मानिएको गर्भपतनको कानुनलाई ‘अफोर्डेबल केयर एक्ट’ अन्तर्गत सहमति बनाउन सकिने मध्यमार्गी विचारलाई जनतासमक्ष लैजाने प्रयास गरिरहेका छन्। 

गर्भपतन मतदातासँग सिधै जोडिएको विषय भएको हुनाले दुवै पार्टीका उम्मेदवार जति नै यो मुद्धाबाट भाग्ने प्रयास गरेपनि सोचे जस्तो सम्भव छैन। ५० वर्षअघि गर्भपतनलाई वैधानिक मान्यता दिइएको थियो। तर, ट्रम्पको पहिलो कार्यकालमा गर्भपतन गराउन महिलाहरूले थुप्रै कानुनी समस्या भोग्नुपर्यो। 

देशको पाँचवटा राज्य मिसीसिपी, मिसौरी, नर्थ डकोटा, साउथ डकोटा र वेस्ट भर्जीनियामा हाल एउटा मात्र गर्भपतनको क्लिनिक रहेको छ। 
पुरानो मूल्य–मान्यता बोकेर हिडेका सामाजिक कार्यकर्ताको सक्रियता केही दिनयता बढ्नुले ट्रम्पलाई फाइदा पुग्ने पनि देखिन्छ। 

अहिलेको अवस्थामा ट्रम्प झिनो मतले वाइडेनभन्दा तल रहेको दावी विभिन्न मिडियाले गरेका छन्। तर, गर्भपतनको कट्टर विरोधमा रहेका सामाजिक अभियन्ताको सक्रियताले एरिजोनासहित केही क्षेत्रमा रिपब्लिकनको अवस्था मजबुत हुने चुनावी रणनीतिकार बताउँछन्। 

परिवार अनुसन्धान विभागका अध्यक्ष टोनी पार्किन्सन चुनावको बीचमा प्रवेश गरेको गर्भपतनको मुद्धाले अन्य मुद्धालाई ओझलमा पार्ने दावी गर्छन। कोरोना र अन्य मुद्धामा घेरिएका ट्रम्प गर्भपतनको मुद्धा दह्रोसँग उठेको खण्डमा मतदाताको ध्यान अन्यत्र मोड्न सफल हुने अध्यक्ष टोनीको भनाई छ। 

तर, महिलाहरूको भोट बढ्नु भनेको ट्रम्पका लागि खतराको सूचक पनि हुन सक्ने अर्काथरी विश्लेषकको भनाई छ। सन् २०१८ को मध्यमा स्थानीय महिला मतदाताले आफ्नो जिल्लामा डेमोक्र्याट उम्मेदवारलाई जिताउन ठूलो सहयोग गरेका थिए। 

गत वर्ष मात्र गर्भपतनलाई निरुत्साही गर्ने ५८ वटा कानुनलाई ट्रम्प सरकारले विभिन्न राज्यमा मान्यता दिएको थियो। जसमा ६ महिनाको भ्रूणको गर्भपात गर्ने कार्यलाई अपराधको सूचिमा राखिएको थियो। 

गर्भपतनको मुद्धा अमेरिकी राजनीतिमा सन् १९७५ देखि उठ्न सुरु भएको हो। तर, यस विषयमा ठोस काम भएको छैन। धेरैको विचारमा गर्भपतनको कानुनमा सुधार हुनुपर्छ– तर, त्यो केही मूल्यमान्यताको परिधिमा रहेर। 

उनीहरू गर्भपतनलाई कानुनी मान्यता दिनुपर्ने तर गर्भ बसेको केही निश्चित अवधिपछि गर्भपतन गराउन नपाउने कडा नियम राज्यले लागु गर्नुपर्ने आवाज उठाइरहेका छन्। 

प्रकाशित मिति: : 2020-09-23 19:02:00

प्रतिकृया दिनुहोस्